close

रूपन्देहीमा १८ वर्षमाथिका सबैलाई लगाइँदै कोरोनाविरुद्धको खोप

रूपन्देहीमा १८ वर्षमाथिका सबैलाई लगाइँदै कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीमा दसैँअघि नै १८ वर्षमाथिका सबैले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । जिल्ला स्वास्थ्य स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जिल्लामा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाउन थालिएको बताए ।


डा गिरीले भने, ‘जिल्लाका १६ वटै पालिकामा २२ र २३ असोजमा १८ वर्षमाथि उमेर समूहका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिएका छौँ ।’ जिल्लामा कुल जनसंख्या १ लाख ८१ हजारमध्ये बालबालिका १ लाख २५ हजार र बाँकी २ लाखले खोपको दुई मात्रा लगाइसकेका छन् ।


२ लाख ५० हजारले पहिलो डोज लगाएका छन् भने बाँकी ४ लाख ६५ हजारलाई दसैँअघि र तिहारपछि बाँकीलाई खोप लगाइनेछ । रूपन्देहीमा दसैँअघि नै लक्षित जनसंख्याको ४० प्रतिशतले खोप लगाउनेछन् भने तिहारअघि बाँकी सबैलाई पनि लगाइने डा. गिरीले बताए ।


स्थानीय निकायमा जिल्लाले परिपत्र गरे पनि पूरै खोप भने नपुग्ने भएको छ । बुटवल उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालका अनुसार उपमहानगरमा लक्षित समूह ७७ हजार रहेको र २३ हजारले खोप लगाइसकेका छन् ।


अहिले जिल्लाबाट १२ हजार खोप आएको उनले बताए । बुटवल उपमहानगरमा ३५ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइसकिएको उनले जानकारी दिए । त्यस्तै, तिलोत्तमाका कोभिड फोकल पर्सन केशव भट्टराईका अनुसार १८ वर्षमाथिका नागरिकलाई खोप लगाउन ३५ हजार डोज आवश्यक छ । तर, तिलोत्तमामा १० हजार डोज मात्र प्राप्त भएको उनले बताए ।

 

तिलोत्तमाले १८ देखि ३० वर्ष उमेर समूहका सबैलाई खोप लगाउने सूचना जारी गरेको छ । सैनामैना नगरपालिकाले पनि स्वास्थ्य कार्यालयबाट प्राप्त खोपले सबै नागरिकलाई नपुग्ने बताएको छ । अन्य कतिपय पालिकाले भने सबै नागरिकलाई खोप लगाउन सूचना जारी गरिसकेका छन् ।  हालसम्म रूपन्देहीमा लक्षित जनसंख्याको २९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् । अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका हुन् ।

 

दसैँभित्र ४० प्रतिशत र तिहारअघि बाँकीलाई कोरोनाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयको योजना रहेको स्वास्थ्य कार्यालय प्रमुख गिरीले बताए ।  लुम्बिनी प्रदेशको बाँके र रूपन्देहीमा यस पटक १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले निर्देशन दिएको छ ।