close

जुम्लाको सिंजाका तीनै पालिकामा गुड्यो एम्बुलेन्स

जुम्लाको सिंजाका तीनै पालिकामा गुड्यो एम्बुलेन्स

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको सिंजा उपत्यकामा तीन वटा गाउँपालिका छन् । सिंजा उपत्यकालाई संघीय संरचनाअनुसार तीन गाउँपालिकामा विभाजन गरिएको छ । हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विभाजित छन् । जुम्ला सदरमुकाम खलंगादेखि पैदल यात्रा गर्दा एक दिनमै सिंजा उपत्यका पुगिन्छ । 


यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आउनुपर्ने बाध्यता भएपछि तीनै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् ।

 

एम्बुलेन्स सञ्चालन भएका सबै क्षेत्रमा मोटर बाटो पुगिसकेको छ । कनकासुन्दरी गाउँपालिकाले हालै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । हिमा र सिंजा पालिकाले यसअघि नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए ।

 

कनकासुन्दरी गाउँपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाका अनुसार राजस्व कर छुटसहित १० लाख ८१ हजार रुपैयाँमा एम्बुलेन्स पालिका ल्याइएको हो । गाउँपालिका रोजगार संयोजक हंसराज न्यौपानेका अनुसार अघिल्लो वर्षदेखि नै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन खोजे पनि लामो प्रयासपछि राजस्व छुट पाएपछि खरिद गरी नागरिकलाई सेवा दिएको हो । ‘पालिकामा एम्बुलेन्स नहुँदा खलंगाबाट झिकाउनुपर्ने समस्या बिरामीले भोग्दै आएका थिए’, उनले भने, ‘यो वर्षदेखि यो समस्याबाट नागरिकले मुक्ति पाए ।’ 


आकस्मिक सेवा प्रवाह गर्न पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा एम्बुलेन्स गाउँपालिकामा पुगेको हो । राजस्व कर छुट गरेर १० लाख रुपैयाँमा पालिकाले खरिद गरेको हो ।’


यस्तै, सिंजा गाउँपालिकाले पनि राजस्व कर छुट गरी १० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरी सेवा दिँदै आएको छ । खलंगादेखि टाढा रहेको पातारासी गाउँपालिकाले पनि एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । यहाँका गुठीचौर, तातोपानी र तिला गाउँपालिका पनि एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा छन् ।