close

लुम्बिनीमा १०० शय्याको आधुनिक अस्पताल बनाउँदै फाउन्डेसन

लुम्बिनीमा १०० शय्याको आधुनिक अस्पताल बनाउँदै फाउन्डेसन

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी गार्डेन फाउन्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामा १०० शय्याको आधुनिक अस्पताल निर्माण गर्ने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसन र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच अस्पताल निर्माणको सम्झौता भएको हो ।

 

लुम्बिनी तथा यस आसपासका महिलामा देखिएको स्त्री तथा प्रजनन समस्यालाई ध्यानमा राख्दै अन्य सुविधासहित लुम्बिनीमा आधुनिक अस्पताल निर्माणको तयारी थालिएको हो ।

 

लुम्बिनीमा आयोजित कार्यक्रममा फाउन्डेसनका महासचिव एकराज गिरीले यसका लागी नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिनुपर्ने बताए । लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले १ महिनाभित्र जग्गा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १० मा जग्गा व्यवस्था गरिएको बताए ।

 

जग्गालाई नगरपालिकाको स्वामित्वमा ल्याई अस्पताललाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको चौधरीले जानकारी दिए । सम्झौता कार्यक्रमका राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी अहिले पनि धेरै कुरामा पछाडि रहेको बताए । फाउन्डेसनको सहयोगमा यस क्षेत्रमा अस्पताल निर्माण हुनु सुखद सुरुआत भएको तिमिल्सिनाको भनाइ छ । 

 

यसअघि लुम्बिनी सांस्कृतिक नगरपालिकालगायत अन्य नगरपालिका र फाउन्डेसनबीचको सहकार्यमा हुने कामबारे केही द्विविधा रहे पनि अहिले हटिसकेको उनले बताए ।

 

नवलपरासीको सुनवल नगरपालिका र सुस्ता गाउँपालिकामा विभिन्न विषयमा सहयोग गर्ने गरी फाउन्डेसनसँग सम्झौता भएको छ । वातावरण, सरसफाइ, संस्कृति, कृषिलगायत क्षेत्रमा सहकार्य हुने गरी सम्झौता भएको हो ।

 

सम्झौतामा सुस्ता पालिका अध्यक्ष रामप्रसाद पाण्डे र सुनवल नगरप्रमुख भीमबहादुर थापा क्षेत्री तथा फाउन्डेसनका अध्यक्ष जोस म्यानुअल भिलानोभालेले हस्ताक्षर गरे । कार्यक्रममा लुम्बिनी स्मारिका समेत विमोचन गरियो ।