close

महोत्तरीमा आइपुग्यो बालबालिका लक्षित कोरोनाविरुद्धको खोप

महोत्तरीमा आइपुग्यो बालबालिका लक्षित कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

महोत्तरी–कोभिड–१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । नयाँ भेरियन्टका लागिसमेत हाल सञ्चालित खोप प्रभावकारी हुने पुष्टि भएपछि अभियानलाई तीव्र बनाइएको हो ।

 

धार्मिक र सांस्कृतिक कारणले कतिपय समुदायमा खोप लगाउन हिचकिचाहट देखिए पनि प्रचार–प्रसार गरी खोप अभियानमा उत्प्रेरित गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

 

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकामा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई ७ देखि ११ पुससम्म मोडर्ना खोप लगाउने तयारी गरिएको छ ।


पहिलो वा दोस्रो मात्रा खोप नलगाएका सर्वसाधारणलाई लक्षित गरी ७ देखि ११ पुससम्म बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकाका स्वास्थ्य केन्द्र तथा तोकिएका ठाउँमा खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवले जानकारी दिए ।


त्यसैगरी जलेश्वर, पिपरा, लोहारपट्टी, मटिहानी, मनरासिस्वा, बल्वा, महोत्तरी र एकडारामा १४ देखि १८ पुससम्म सामुदायिक विद्यालयका लक्षित उमेर समूहका बालबालिका र सर्वसाधारणका लागि खोप अभियान सञ्चालन गरिने प्रमुख यादवको भनाइ छ ।

 

दोस्रो खोप नलगाएकालाई लक्षित गरी जलेश्वर र बर्दिबास अस्पतालमा दैनिक खोप लगाउने व्यवस्था मिलाइएको कार्यालय महोत्तरीले बताएको छ ।
‘सार्वजनिक बिदाबाहेक हरेक दिन खोप लगाउन सकिने व्यवस्था मिलाएका छौँ’, कार्यालय प्रमुख यादवले भने ।

 

विभिन्न चरणमा सञ्चालन गरिएको खोप अभियानबाट महोत्तरीको कुल जनसंख्याको झन्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन् भने बाँकीलाई पनि घरदैलोमै गएर पूर्ण खोपको व्यवस्था गर्ने स्वास्थ्य कार्यालयको तयारी छ । बालबालिकाका लागि महोत्तरीमा पहिलो पल्ट खोप अभियान सञ्चालन गरिएको हो ।