close

उदयपुरमा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप लगाइँदै

उदयपुरमा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप लगाइँदै

Trulli
ADVERTISEMENT

उदयपुर–जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकालाई मोडर्ना खोप लगाउन थालेको छ । बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप प्रत्येक विद्यालयमै पुगेर लगाउन थालिएको हो । १२ देखि १७ वर्ष उमेर समूहका बालिबालिकालाई लक्षित गरी खोप लगाउन सुरु भएको स्वास्थ्य कार्यालयले बताएको छ ।

 

 

मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमा लगाउन सुरु भएको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए । उनका अनुसार जिल्लामा मोडर्ना खोप ४३ हजार ६ सय थान आएको छ । उदयपुरका ४ नगरपालिका त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका तथा ४ गाउँपालिका लिम्चुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढी गरी ८ वटै स्थानीय तहमा खोप लगाउन जनसंख्याका आधारमा वितरण गरिएको निरौलाले जानकारी दिए । 

 

 

सदरमुकाम गाईघाटस्थित त्रियुगालाई सबभन्दा बढी १६ हजार ३ सय खोप दिइएको छ भने कटारीलाई ७ हजार ५ सय र चौदण्डीगढी तथा बेलका नगरपालिकालाई समान ५ हजार २ सयका दरले पठाइएको छ । त्यसैगरी उदयपुरगढी गाउँपालिकालाई ३ हजार ५ सय, रौतामाईलाई ३ हजार, लिम्चुङबुङ र ताप्ली गाउँपालिकालाई क्रमशः १ हजार ५ सय र १ हजार ३ सय थान खोप पठाइएको छ । स्वास्थ्य मन्त्रालयले पठाएको खोप स्थानीय तहले आफू मातहतका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई लगाउन थालेका छन् ।

 


स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख वृजकुमार दासका अनुसार उदयपुरका सबै स्थानीय तहमा एकै दिन खोप लगाउन थालिएको हो । स्थानीय तहले हरेक वडा स्वास्थ्य चौकी र विद्यालयमै स्वास्थ्य टोली पठाएर खोप दिन थालेको दासले बताए । विद्यालयबाहेक जिल्लाका ४६ वटै स्वास्थ्य चौकीमार्फत खोप दिइँदै छ । उदयपुरमा भने खोप आउनै ढिला भएकाले झन्डै सातापछि खोप अभियान सुरु भएको हो ।