close

जुम्लामा सार्वजनिक सेवा पाउन खोप कोर्ड अनिवार्य 

जुम्लामा सार्वजनिक सेवा पाउन खोप कोर्ड अनिवार्य 

Trulli
ADVERTISEMENT

जुम्ला–जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । २७ पुसमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो । सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ । 


सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले बताइन् । यस्तै, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ । 


७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । कोभिडविरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन आध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले बताएको छ । 

 

संक्रमणको दोस्रो लहरमा २३ जनाको मृत्यु 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० वैशाख ०७७ देखि कोरोना परीक्षण ल्याब सञ्चालनमा आएको छ । कोरोना संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । 

 

यसमध्ये ४ सय ६३ जना नागरिकमा कोरोना संक्रमण देखिएको थियो । दोस्रो लहरको कोरोना संक्रमण जुम्लामा ०७८ वैशाखदेखि संक्रमण देखिएको हो । ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय २४ संक्रमण देखिएको थियो भने ३ हजार ८ सय २ जनाको एन्टिजोन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 

जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोरोनाविरुद्धको खोप लगाएका छन् भने पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।