close

शल्यक्रियाबाट सुत्केरी गराउँदा आमा र नवजात शिशुको ज्यान गयो 

शल्यक्रियाबाट सुत्केरी गराउँदा आमा र नवजात शिशुको ज्यान गयो 

Trulli
ADVERTISEMENT

जुम्ला–जिल्ला अस्पताल हुम्लामा शल्यक्रियापछि सुत्केरी आमा र बच्चा दुवैको मृत्यु भएको छ । ५ माघमा शल्यक्रिया गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो शुक्रबार राती आमाको ज्यान गएको हो । शल्यक्रिया गरेको तीन दिनपछि सीमकोट गाउँपालिका वडा नम्बर ५ की २१ वर्षीया टीका सार्कीको मृत्यु भएको हो ।

 

मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेर घरमा बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पताल हुम्लामा ल्याई शल्यक्रिया गरेर बच्चा जन्माए पनि आमा र बच्चा दुवैको मृत्यु भएको ससुरा धनसिंह सार्कीले बताए । जिल्ला अस्पताल हुम्लाका अनुसार मृतक सार्कीको फोक्सोमा श्वासप्रश्वासको मात्रा कम भएपछि अकालमै ज्यान गुमेको हो ।

 

शल्याक्रिया गरेको दुई दिनसम्म सार्कीको स्वास्थ्यमा सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । सार्कीले स्वास्थ्यमा समस्या देखिएको भनेपछि जिल्ला अस्पतालले उद्धारको लागि हेलिकोप्टर व्यवस्था गरे पनि राती भएकाले उद्धार हुन सकेन ।शनिबार बिहान हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भए पनि शुक्रबार राती मृत्यु भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

 

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ८ कोटीला माइत भई सार्कीले एक वर्षअघि हुम्लामा विवाह गरेकी थिइन् । माइती पक्षले मृतक सार्कीको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै रहेको छ ।

 

माइती पक्षले के–कति कारणले छोरीको मृत्यु भएको पत्ता नलाग्दासम्म शव उठाउन नदिँदा पोस्टमार्टम नहुँदा सार्कीका परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए । उनका अनुसार माइती पक्ष आफैं हुम्ला आउने बताएपछि घरपरिवारले शव उठाउन मानेका छैनन् । 

 

सार्कीका घरपरिवारले शव उठाउन नमानेपछि सीमकोट गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सरकारी वकिल कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुखको टोली जिल्ला अस्पतालमा पुगेको थियो ।  सोही टोलीले माइती पक्षसँग कुरा गरेर सार्कीको शव उठाउने बताइएको छ ।

 

दुर्गम हुम्लाका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ । शल्यक्रिया गरेर बाँच्न नसकेकी सार्कीजस्तै कयौँ महिलाको अकालमा ज्याने गरेको छ । यहाँका महिला बिरामी हुँदा आवश्यक पर्याप्त सामग्री र चिकित्सक नहुँदा अकालमै ज्यान गुमाउनुपरेको छ । 

 

जिल्लामा स्वास्थ्यकर्मी नियमित नबस्नु, औषधी उपकरणलगायत अभावले ज्यान गुमाउने गरेका छन् । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । 

 

यस्तै, ३० पुसमा जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर ६ की गौगरा बत्यालको सुत्केरी भएको ५ मिनेटपछि मृत्यु भएको थियो । यहाँका महिलाले उपचार अभावमा कलिलै उमेरमा ज्यान गुमाउनु परिहेको छ ।