close

बाजुरामा कोरोनाको पिसिआर जाँच निःशुल्क

बाजुरामा कोरोनाको पिसिआर जाँच निःशुल्क

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरामा पिसिआर जाँच सेवा निःशुल्क भएको छ । जिल्ला अस्पताल बाजुराले सञ्चालमा ल्याएको पिसिआर ल्याबमा कोरोना जाँच निःशुल्क दिन थालिएको बाजुरा अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए । जिल्ला अस्पताल बाजुराले कोभिड जाँचलाई लक्षित गरी पिसिआर ल्याब सञ्चालनमा ल्याएको १ महिना बढी समय भएको छ । सेवा सञ्चालन आएपछि १ सय ७६ जनाको पिसिआर जाँच गरिसकेका छन् । यीमध्ये ५० जनालाई पोजेटिभ देखाएको थियो ।

 

अन्यत्र सरकारी अस्पतालमा पिसिआर जाँच गरेको ८ सय र निजीमा २ हजार रुपैयाँ बढी रकम लिइँदै आए पनि बाजुरा अस्पतालले निःशुल्क जाँच गर्न थालेको हो । कोभिड आशंका भएका बिरामीलाई रकम अभावका कारण जाँचमा समस्या भएकाले निःशुल्क जाँच गरिरहेको प्रमुख जोशीले बताए । शंका लागेका बिरामीको पिसिआर ल्याब जाँच गर्ने गरेको उनले जानकारी दिए ।

 

एकचोटि पोजेटिभ भएपछि पटक–पटक जाँच गरिनुपर्ने हुन्छ । धेरैसँग पैसा नहुने समस्या छ । पिसिआर ल्याब निःशुल्क हुँदा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निकै सहज भएको स्थानीय बलबहादुर रोकायाले बताए । लामो समयको प्रयासपछि २ महिना पहिला मात्र पिसिआर ल्याब सुरु भएको थियो । कोभिड जाँचका लागि जिल्लाबासीलाई यसअघि धनगढी, डोटीलगायत जिल्ला जानुपर्ने बाध्यता थियो ।

 

पिसिआर ल्याब सञ्चालनका लागि संघीय र प्रदेश सरकारले लगानी गरेका हुन् । धेरै सामान संघीय सांसद लालबहादुर थापाको पहलमा बाजुरा ल्याइएको थियो भने अपुग बाजुरा अस्पतालले २७ लाख रुपैयाँमा टेन्डर गरेर खरिद गरेको हो । पिसिआर ल्याब सेवा सञ्चालनमा आएपछि अन्य भाइरस र ब्याक्टरियाको जाँच पनि हुने गरेको छ । कुनै सरुवा रोग फैलिए रोग पहिचानको लागि जाँच गर्न धनगढी, नेपालगन्ज, काठमाडांै पठाइने गरेको थियो । अब यही ल्याबबाट अन्य जाँच हुने भएकाले सहज भएको बाजुराले अस्पतालले बताएको छ ।