close

विजयसाल नै सकिँदै छ, कसरी जोगिएला सुदूरपश्चिमको शान?

विजयसाल नै सकिँदै छ, कसरी जोगिएला सुदूरपश्चिमको शान?

Trulli
ADVERTISEMENT

महेन्द्रनगर । सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा ‘मायाको चिनो’ अर्थात उपहारका रुपमा स्थापित भएको छ, ‘विजयसालको अम्खोरा’। यसलाई सुदूरपश्चिमको ‘ब्रान्ड’ अम्खोराका रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ तर बहुउपयोगी रूख विजयसाल नै हराउन थालेपछि सुदूरपश्चिमको शानको रुपमा रहेको अम्खोरा कसरी बनाउने? त्रास बढेको छ।

जिल्लामा एक दशक अघिदेखि थालिएको पर्यटन महोत्सवले विजयसालबाट बनेका भाँडाकुँडाको महत्व बढाएको हो। महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने ‘सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ ले यसको प्रवर्द्धन तथा प्रचारप्रसारमा थप टेवा पुर्‍याएको छ। उवासङ्घका अध्यक्ष जंगबहादुर मल्ल भन्छन्, ‘उद्योग वाणिज्य सङ्घले विजयबाट निर्मित अम्खोरा लगायतका वस्तुलाई महोत्सवमा प्राथमिकता दियौँ। अहिले यो सुदूरपश्चिमको पहिचान बनेको छ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विजयसालका भाँडाले जिल्लाको पहिचान बढाएको जिकिर भन्दै उवासङ्घका अध्यक्ष मल्ल भन्छन्, ‘यो औषधिमूलक र सजावटका लागि पनि उपयुक्त छ। त्यससँगै जिल्लाको पहिचानसमेत जोडिएको छ।’

वैज्ञानिक नाम ‘टेरोकार्पस मार्सुपियम’  भएको विजयसाल नेपालमा मात्र होइन पश्चिमा देशमा समेत औषधीय गुणका कारण प्रख्यात छ। चिनोका रूपमा दिइने विजयसालको भाँडोमा राखेको पानी पिउँदा मुख्यतया पेट सम्बन्धी विभिन्न रोगहरू निको हुने विश्वास गरिन्छ। औषधीको रुपमा समेत प्रयोग हुन थालेपछि यसको महत्व झनै बढेको छ। विजयसालको बोक्रा, खोटो र कलिला पातबाट निकालिएको रस विभिन्न रोगको उपचारका लागि औषधीका रुपमा प्रयोग गरिने आयुर्वेदका चिकित्सक बताउँछन्।

विजयसालको भाँडामा राखिएको पानी पिउने गरे पेटका विभिन्न रोग, मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने र हाडजोर्नी दुख्ने रोग निदान गर्न सकिने बताइन्छ। विजयसालका भाँडामा सधैँ पानी राख्दा माथिल्लो भाग नीलो, बीचको भाग रातो र पिँधको भागको रङ्ग पहेँलो देखिने गर्छ। अहिले त यसलाई घरघरको सजावटका रुपमा समेत प्रयोग गर्न थालिएको छ।

भारत र श्रीलङ्कासहित विजयसाल कञ्चनपुर, कैलाली र कपिलवस्तु जिल्लामा मात्रै पाइन्छ। समुद्र सतहदेखि एक हजार मिटरसम्म उचाइ रहेको चुरे शृङ्खलाको फेद र भावर क्षेत्रमा विजयसालका रूख पाइन्छ। तर पर्याप्त जनचेतनाका अभावका कारण घाँस दाउराको रूपमा प्रयोग हुँदै जाँदा यो मासिँदै गएको छ। वन विभागले विश्व वन्यजन्तु कोषसँग मिलेर विजयसाल संरक्षणको कार्यनीति २०१८-२०२२ बनाए पनि कञ्चनपुरमा त्यसको खासै प्रभाव देखिएको छैन।

२०५७ सालदेखि भीमदत्त नगरपालिकाको भाँसीमा मेरिट काष्ठ उद्योग सञ्चालन गरेर विजयसालका भाँडा उत्पादन गरिरहेका व्यवसायी गणेशदत्त बोहरा भन्छन्, ‘दाउरा घाँसमा प्रयोग हुने विजयसाल औषधीका रुपमा प्रयोग हुन थालेको थियो, बल्ल सदुपयोग हुन थालेको थियो तर अहिले सहजै पाइँदैन।’

कञ्चनपुरको झलारी, दैजी, सिसैया, भगतपुर, भाँसी लगायतका ठाउँमा पनि विजयसालका भाँडाकुँडा उत्पादन हुने गर्छन्। चुरे क्षेत्रमा पाइने विजयसाल मासिँदै गएपछि यो व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूको गुनासो छ। पर्याप्त रुपमा विजयसालको काठ नपाउने गरेको उनीहरू बताउँछन्। सामुदायिक वन र राष्ट्रिय वनमा सुकेका र ढलेका रूख मुस्किलले पाइन्छन्। वन र आरा मिलबाट खरिद गर्ने गरेका व्यवसायीको विजयसालको कच्चा पदार्थ अपर्याप्त भएको गुनासो छ। विजयसालको महत्व बढ्दै जाँदा लोप हुने खतरा समेत बढ्दै छ।

विजयसालको उपलब्धता घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्ल भन्छन्, ‘जिल्ला वन र सामुदायिक वनले यसको संरक्षणमा भूमिका खेल्नु पर्छ। कटानी मात्रै नभएर वृक्षारोपण आवश्यक छ।’