close

खण्डहर बन्याे रामधुनी वधशाला, ७५ लाख 'बालुवा'मा

खण्डहर बन्याे रामधुनी वधशाला, ७५ लाख 'बालुवा'मा

Trulli
ADVERTISEMENT

सुनसरी - सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारदेखि १ किलोमिटर दक्षिणमो रहेको झुम्का वधशाला प्रयोगमा नआउँदा खण्डहर बन्दै गएको छ । वधशालाको भवनमा नगरपालिकाले चासो नदिँदा जीर्ण बनेको हो । 


वधशाला वरपर तारजाली लगाइए पनि झार र पातपंतिगर उम्रिए पछि भवन नै देखिन छाडेको छ । भवनको भुइँभरि झ्यालका सिसा र गन्हाउने फोहोरका कारण वधशालामा कोही पनि जाने गर्दैनन् । प्रयोगमा नआउँदा वधशालाका महँगा फ्रिज तथ ाअन्य उपकरण कामै नलाग्ने भएका छन् ।


५ वर्षअघि ७५ लाखको लागतमा निर्माण गरिएको वधशाला तत्कालीन भातगाउँ सिनवारी गाविसले निर्माण गरेको थियो । झुम्का बजारमा अव्यवस्थित रुपमा माछा मासु बिक्री हुन थालेपछि गाविसले विकल्पका रुपमा उक्त स्थानमा वधशाला बनाएको थियो ।


अहिले पनि झुम्का बजारमा अव्यवस्थित रुपमा माछामासु काट्ने र बिक्री हुँदै आएको छ । व्यवस्थित रुपमा मासु काट्ने र पूर्वमा फ्रोजन मासुको कारोबार बढाउने उद्देश्यले वधशाला निर्माण गरिए पनि प्रयोगमा नआउँदा जीर्ण बनेको निर्माण  समितिका अध्यक्ष कमल गुरुङले बताए । उनका अनुसार वधशालाबाट स्थानीयलाई स्वस्थ मासु खुवाउने लक्ष्य राखिएको थियो । ०७१ बाट सुरु गरेर ०७२ मा निर्माण सकिएको वधशाला प्रयोगमै नआई खण्डहर बनेको उनको भनाइ छ ।


स्थानीय निकाय गाभिएपछि रामधुनी नगरपालिका मातहतमा वधशाला पुगेको हो । ०७३ को स्थानीय तहको निर्वाचनपछि वधशाला सञ्चालन गर्न टेन्डर प्रक्रियामार्फत स्थानीय अजय चौधरीले ३ वर्षका लागि २५ लाखमा ठेक्काहातपारे । आव ०७३/७४ मा  ३ वर्षको ठेक्का लिएका उनले ५ महिना मात्र वधशाला सञ्चालन गरे ।


सुरुमा वधशाला व्यवस्थापन गरेर चौधरीले चलाउन सुरु गरे पनि स्थानीयको विरोधका कारण अवरोध भयो । ‘वधशालाबाट प्रतिखसीबोका ५ सयका दरले काटेर स्वच्छ मासु खपत गराउन थालेका थियौं । त्यसले गर्दा सडक किनारामा अव्यवस्थित खसी बोका काट्ने व्यवसायीले विरोध गर्दा सञ्चालनमाल् याउन सकेनौं’, चौधरी भन्छन् ।


उनका अनुसार झुम्का बजारको बीचमा बग्ने नहर वारि र पारिका स्थानीयबीच मत विभाजन भयो । दुवैतिर आन्दोलन सुरु भएपछि खसी बोका काटेको मुल्य घटाउने सहमती भयो । पछि १ सय ७५ रुपैयाँमा खसी बोका तयार पार्ने सहमति भयो । सुरुदेखिनै घाटा बेहोर्नु परेकाले बन्द गर्नुपरेको उनी सुनाउँछन् । 


वधशालाका लागि ३ वर्षको २५ लाख तिर्नु पर्ने भएपनि मासिक ५० हजार तिर्नुपर्दा घाटा लागेको चौधरीले बताए । ६ महिनासम्म चलाउँदा पनि नाफा नहुने देखिएपछि बन्द गर्ने निर्णय गरेको उनले बताए । चौधरीले नगरपालिकाबाट ठेक्का फिर्ता लिएर हाल झुम्का बजारमै फ्रेस हाउस र किराना पसल सञ्चालन गरिरहेका छन् । 


रामधुनी नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी वधशाला पुनः सञ्चालनबारे केही नसोचिएको बताउँछन् । ‘लामो समयदेखि बन्द वधशालामा अहिले कुनै पनि सामग्री काम नलाग्ने अवस्थामा पुगेका छन् । अब पुनःटेन्डर खुलाएर भएका सामग्री बिक्री गर्नुको विकल्प छैन’, नगरप्रमुख चौधरीले भने ।