close

पर्यटकीय स्थल सतखलुवा ताल पुग्ने सडक कालोपत्रे गर्दै बारबर्दिया  

पर्यटकीय स्थल सतखलुवा ताल पुग्ने सडक कालोपत्रे गर्दै बारबर्दिया  

Trulli
ADVERTISEMENT

बर्दिया - बारबर्दिया नगरपालिकाले नगरकै प्रमुख पर्यटकीय क्षेत्र सतखलुवा ताल जाने सडकमा कालोपत्रे सुरु गरेको छ । नगरपालिकाकै लगानीको यो सडकमा गरिने कालोपत्रे गरिन लागेको हो ।


बारबर्दिया नगरपालिका- ९ खैरेनी गाउँमा रहेको सतखलुवा ताल  प्राकृतिक हो । ताल जाने बाटो खैरेनी सडक (सगुन मार्ग) मा कालोपत्रे गर्न थालिएको हो । गत आर्थिक वर्षमै कालोपत्रे गर्ने योजना रहे पनि लकडाउनका कारण सडक निर्माण रोकिएको थियो । 


हाल खैरेनीगाउँमा १ हजार ६ सय १५ मिटर सडक कालोपत्रे भइरहेको छ । यो सबै बारबर्दिया नगरपालिकाको लगानीमा भएको पहिलो कालोपत्रे सडक हो । करिब १ करोड ९४ लाख रुपैयाँको लागत स्टिमेट रहेको सो सडक ब्ल्याकबक कन्स्ट्रक्सनले १ करोड ६ लाख ६९ हजार रुपैयाँमा ठेक्का सकार गरी निर्माण सुरु गरेको छ । 


ताल अवलोकन गर्न आउने पर्यटकलाई त्यहाँसम्म पुग्न सहज होस् भनेर उक्त सडक पालिकाले कालोपत्रे गर्न लागेको बारबर्दिया नगरपालिका नगरप्रमुख दुर्गाबहादुर थारुले बताए ।


‘सतखलुवा ताल र सतखलुवा होमस्टे बारबर्दियाको प्रमुख पर्यटकीय गन्तव्य हो । ताल र होमस्टे जाने बाटो कालोपत्रे गर्ने अभियानस्वरूप खैरेनी गाउँमा कालोपत्रे सुरु गरिएको हो’, नगरप्रमुख थारुले भने ।


पछिल्लो समय ताल अवलोकन गर्न र त्यस वरपर वनभोज खान आउनेहरूको संख्या बढ्दै गएको स्थानीय ललित सापकोटा बताउँछन् । तालमा डुंगा सयरको व्यवस्था छ । ताल अवलोकनका लागि भ्यु टावर पनि बनाइएको छ ।


सडक कालोपत्रे भएपछि ताल अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुने नगरपालिकाले बताएको छ ।