close

लक्ष्मीपुर पतारीले बनायो आफ्नै भवन

लक्ष्मीपुर पतारीले बनायो आफ्नै भवन

Trulli
ADVERTISEMENT

सिरहा - भाडामा बस्दै आएको सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयले आफ्नै भवन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।


२ तले उक्त भवनमा १ सभाहलसहित ५ पाँच कोठा रहनेछन् । गत आर्थिक वर्षबाट सुरु गरिएको भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष रामवल्लभ साहले बताए


६२ लाखको लागतमा उक्त भवन निर्माण भइरहेको उनले जानकारी दिए । ‘गाउँपालिकाको भवन नहुँदा धेरै समस्या  भएको थियो । निर्माण सकिनेबित्तिकै एकै ठाउँमा एकीकृत सेवा चलाएर सेवाग्राहीलाई सुविधा दिने लक्ष्य छ’, गाउँपालिका अध्यक्ष साहले भने । 


भाडाको भवन पनि ३ कोठे मात्र हुँदा कार्यालय सञ्चालन गर्न गाह्रो भइरहेका बेला नयाँ भवन बनेपछि सेवाग्राही र जनप्रतिनिधि दुवैलाई सहज हुने उनको विश्वास छ ।


‘रङरोगनको काम मात्र बाँकी छ । दसैंअघि नै नयाँ भवनबाट सेवा सुरु गर्ने तयारीमा छौं’, उनले भने, ‘गाउँपालिका केन्द्र भएको ठाउँ महेशपुर पत्तारीमा भवन नभएपछि गाउँसभाबाटै निर्णय गराएर निर्माण गरिएको हो ।’


कार्यालयको भवन नहुँदा एउटै कोठामा पञ्जीकरण, सूचना प्रविधि, प्राविधिक, रोजगारलगायत आर्थिक लेखा शाखा सञ्चालन गर्नुपर्ने अवस्था नयाँ भवन बनेपछि हट्ने प्रमुख प्रशासकीय अधिकृत सुमित्रा लामाले बताइन् ।


‘हाल बनिरहेको नयाँ भवन र पुरानो कार्यालयमा गरी १४ कोठा हुनेछन्’, उनले भनिन् । गाउँपालिकाले नयाँ भवनबाट सेवा दिने भएपछि सेवाग्राही पनि खुसी छन् ।