close

अब पनौती नगरपालिकाका वडा कार्यालय आफ्नै भवनमा

अब पनौती नगरपालिकाका वडा कार्यालय आफ्नै भवनमा

Trulli
ADVERTISEMENT

काभ्रे - पनौती नगरपालिका वडा नं. ३ को वडा कार्यालयको आफ्नै भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।


तीन करोड दुई लाख ६० हजार २२५ रुपैयाँ (भ्याटसहित तीन करोड छ लाख रुपैयाँ) कुल लागत रहेको वडा कार्यालय भवन गत वर्ष ९ पुसमा सम्झौता भई २०७७ वैशाखदेखि निर्माण कार्य हुँदै आएको छ । पनौती नगरपालिका वडा नंं. ३ को कुशादेवीमा बन्दै गरेको चार तल्ले सुविधा सम्पन्न भवन आगामी दुई महिनाभित्र सम्पन्न भइसक्ने वडा अध्यक्ष किशोर थापाले जानकारी दिए ।


पनौती नगरपालिकाले निर्वाचन भएको पहिलो वर्षमा वडा नं. ३ को भवन निर्माणका लागि ७५ लाख रुपैयाँमा ५८ आना जग्गा किनेको थियो । वडा कार्यालय निर्माण सँगसँगै जनताको व्यापक सहभागितामा स्वास्थ्य चौकी, प्रत्येक टोल, वस्तीहरूमा सडक स्तरोन्नति, पशु, कृषिका साथै अन्य कामहरू पनि तीब्र गतिमा अगाडि बढिरहेको वडा अध्यक्ष थापाले जानकारी दिए । 


उनले भने, ‘निर्वाचनअघि लथालिङ्ग अवस्थामा रहेका वस्तीवस्तीका सडकहरूको कटिङ, ४०० मिटर ड्रेन तथा ग्राभेल गरिसकिएको छ । लगभग ४०० मिटर सडकमा ढलानको काम सकिइसकेको छ र एक घरः एक धाराको अवधारणाबमोजिम १७५ घरधुरीमा खानेपानीको धारा निर्माण भइसकेको छ ।’ गर्न बाँकी अन्य महत्त्वपूर्ण कामहरू आफ्नो कार्यकालभित्रै गरिसक्ने योजनामा अगाडि बढिरहेको उनको भनाइ छ ।


पनौती नगरपालीकाका १२ वटा वडामध्ये वडा नं. ३ र ४ बाहेक अन्य सबै वडाले आफ्नै भवनबाट काम गर्दै आइरहेका छन् भने वडा नं. ३ र ४ को भवनको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको छ ।