close

२० करोडकाे लागतमा रंगशाला बनाउँदै भीमेश्वर नगरपालिका

२० करोडकाे लागतमा रंगशाला बनाउँदै भीमेश्वर नगरपालिका

Trulli
ADVERTISEMENT

दोलखा- दोलखाको भीमेश्वर नगरपालिकाले सदरमुकाम चरीकोटमा भीमेश्वर रंगशाला निर्माण सुरु गरेको छ । संघीय सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले गृहजिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर ३ मा भीमेश्वर रंगशालाको शिलान्यास गरे । 

 

जिल्लाकै महत्त्वपूर्ण योजना टुँडिखेलमा रंगशाला निर्माणलाई प्राथमिकतामा राखेर काम सुरु गरेकामा मन्त्री गुरुङले नगरपालिकालाई धन्यवाद दिए । भीमेश्वरको आफ्नै स्रोतबाट निर्माणाधीन रंगशाला निर्माणलाई नगरपालिकाले गौरवको आयोजनाको रूपमा समेटेको छ ।

 

एक सय दस मिटर लम्बाइ र ६५ मिटर चौडाइको टुँडिखेल विस्तारको काम भइरहेको छ । टुँडिखेल निर्माणपछि राष्ट्रिय स्तरका खेल नियमित गराउन सकिने भीमेश्वर नगरले जनाएको छ । 

 

नगरपालिकाले गत आर्थिक वर्ष अन्त्यमा टुँडिखेल विस्तारका लागि ठेक्का आह्वान गरेको थियो । किराँतेश्वर–सिमपानी जेभीले २४ महिनामा पूरा गर्ने गरी २५ साउन २०७७ मा सम्झौता गरी काम सुरु गरेको थियो । अहिले दक्षिणतिरको १ सय १० मिटर लम्बाइको जग खनेर भवन निर्माण सुरु गरेको छ ।


भीमेश्वरका योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर सुरेश राउतका अनुसार पहिलो चरणमा दक्षिण र पूर्वतिरको दुई तले भवनसहितको अत्याधुनिक आरसीसी प्याराफिट निर्माण हुने बताए । ‘टुँडिखेल विस्तार तथा निर्माणका लागि २० करोड लागत अनुमान गरेकामा पहिलो चरणमा १२ करोड रुपैयाँमा काम सुरु भएको हो’, उनले भने । 

 

पहिलो चरणको काम २०७९ साल असारमा काम पूरा हुने र दोस्रो चरणको कामका लागि आर्थिक स्रोत जुटेपछि ठेक्का आह्वान गरिने उनले जानकारी दिए ।


दोस्रो चरणमा उत्तरतिरको प्याराफिट, खेलमैलान र टिकट काउन्टर, अतिथि आसनलगायत संरचना निर्माण गरिनेछन् । अहिलेको टुँडिखेल फिफाको मापदण्डअनुसार अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।

 

टुँडिखेल निर्माण भएपछि राष्ट्रिय स्तरका खेल नियमित गर्न सकिने हुँदा चरीकोटलाई खेल–पर्यटनका माध्यमबाट अगाडि बढाउन सकिने अपेक्षा नगरपालिकाको छ ।

 

टुँडिखेलको दक्षिणी लम्बाइमा २५/२५ मिटरका दुइटा र ३०/३० मिटरका दुइटा ब्लक निर्माण गरिनेछ । बाहिरपट्टि ४० वटा व्यापारिक सटर निकालेर दुई तलाको भवन र त्यसमाथि प्याराफिट निर्माण गरिने इञ्जिनियर राउतले बताए । 

 

रंगशालाको पूर्वतिर भूमिगत पार्किङ, टिकट काउन्टर, क्यान्टिन, शौचालय, बाथरुम खेलकुद शाखाका कार्यालय राख्न मिल्ने कोठा निर्माण हुनेछन् ।

 

पूर्वतिर गौरीशंकरसहितका रोल्वालिङ हिमशृंखला हुने भएकाले हिमाल नछेकिने गरी भवनभन्दा माथि चार तहको सिट भएको प्याराफिट बनाइनेछ । तर, दक्षिणतिर भने १० तहको सिट निर्माण गरिनेछ । कार्यक्रममा मन्त्री गुरुङले भीमेश्वर नगरको बृहत् योजना २०७७ को विमोचनसमेत गरे ।