close

स्वास्थ्यचौकी र वडा कार्यालयको भवन उद्घाटन

स्वास्थ्यचौकी र वडा कार्यालयको भवन उद्घाटन

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिका- १ फेदीमा एकैसाथ स्वास्थ्यचौकी र वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । साविकको फेदी गाविस- ५ मा निर्माण गरिएको स्वास्थ्यचौकी र वडा कार्यालयको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको हो । 


स्वास्थ्यचौकीको भवन केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई र वडा कार्यालयको भवन उपाध्यक्ष हीरादेवी वनले उद्घाटन गरेका हुन् ।

 

स्वास्थ्यचौकीको ७ कोठे भवन ठेक्का प्रणालीमार्फत शहरी विकास मन्त्रालयको १ करोड ४८ लाख रुपैयाँमा निर्माण गरिएको हो । स्वास्थ्यचौकीको २ तल्ले भवनमा बर्थिङ सेन्टर, प्रशासन, ओपीडी, स्टोर, कर्मचारी आवासलगायतका संरचना निर्माण गरिएको छ । 


स्वास्थ्यचौकीको भवन क्रमागत योजनाका रूपमा निर्माण गरिएको हो । स्वास्थ्यचौकीको भवनका लागि स्थानीय रामबहादुर राई, होमबहादुर राई र पत्नबहादुर राईले जग्गा प्रदान गरेका छन् ।

 
वडा कार्यालयको एक तल्ले भवन भने उपभोक्ता समितिमार्फत २९ लाख रुपैयाँमा निर्माण गरिएको हो । सभाहल, जनप्रतिनिधि, वडा सचिव, योजना र प्रशासन कक्ष, प्राविधिक फाँटलगायतका ५ कोठा भएको भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको फेदीका वडा सचिव ध्रुवराज राईले बताए । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको १२ लाख र गाउँपालिकाको १७ लाख रुपैयाँमा वडा कार्यालय भवन निर्माण गरिएको हो ।


स्थानीय सरकारमार्फत भवन निर्माणको काम अघि बढाउने गरी शान्ति तथा पुनर्निर्माण मन्त्रालयले आर्थिक वर्ष २०७१/०७२ मा १२ लाख रुपैयाँ निकासा दिएको अवस्थामा आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाबाट आवश्यक रकम थप गरेर वडा कार्यालयको भवन निर्माण गरिएको वडा सचिव राईले बताए । वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय दलबहादुर राई र रणबहादुर राईले जग्गा प्रदान गरेका छन् ।