close

कोटिला पञ्चकोसी ताल निर्माणः २ वर्षपछि बल्ल डीपीआरले गति लिँदै 

कोटिला पञ्चकोसी ताल निर्माणः २ वर्षपछि बल्ल डीपीआरले गति लिँदै 

Trulli
ADVERTISEMENT

दैलेख- दैलेखको महत्त्वाकांक्षी कोटिला पञ्चकोसी मानवनिर्मित ताल निर्माण आयोजना अघि सारिए पनि अहिलेसम्म पूर्णता पाउन सकेको छैन । 


दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकाको पर्यटन विकासको मेरुदण्डको रूपमा मानिएको कोटिलाको पञ्चकोसी ताल निर्माणका लागि डेढ अर्ब रुपैयाँको बजेट विनियोजन गरिने भएको छ । 


आयोजना अगाडि बढाउन करिब २ वर्षपछि बल्ल डीपीआर निर्माणले अन्तिम रूप लिएको छ । ६ महिनाअघि डीपीआर सम्पन्न गर्ने तयारी थालिए पनि कोरोना महामारीका कारण सर्भेका विभिन्न काममा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ । 


डीपीआर निर्माणको अन्तिम तयारी बैठकमा प्रस्तुत गरिएको प्रतिवेदन अझै पूरा नभएकाले १ सातासम्म थप प्राविधिक, विज्ञ, दुल्लु र नारायणका दुवै जनप्रतिनिधिको रोहवरमा स्थलगत अध्ययनपछि देखिएका कमजोरी सच्याएर काम पूरा गर्ने तयारी छ ।

 

पानीको बहाव कति हुने, कति क्षेत्रफल ओगट्ने, सम्भावित क्षति कसरी न्यूनीकरण गर्ने, सर्भे गर्दा बेन्चमार्ग नराखेरै गरिएको, रिपोर्टअनुसार फिल्डमा पुगेर भेरिफिकेसन हुन नसकेको, मुआब्जालगायत समस्या समाधान गर्ने विषय डीपीआरमा उल्लेख नगरिएको सहभागीको गुनासो छ ।

 

डीपीआरमा समावेश गर्नुपर्ने कुरा छुटेकाले १ साताभित्र पूर्णता दिन निर्माण कम्पनीलाई निर्देशन दिइएको नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले बताए । कुल ४५ लाख रुपैयाँ लागतमा निर्माण थालिएको डीपीआर सतही रूपमा मात्र आएको सहभागीले गुनासो गरेका छन् । 

 

दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले आयोजना महत्त्वाकांक्षी भए पनि दैलेखको पर्यटन विकासमा निकै महत्त्व राख्ने भएकाले दुवै पालिका मिलेर यो वर्षबाट काम सुरु गरिने जानकारी दिए ।

 
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले दुवै नगरले यो आयोजनालाई अन्तिम रूप दिन सकिने आम्दानीको राम्रो स्रोत हुनुका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने बताए । 


कोटिलामा ताल निर्माण सँगै अहिलेको मन्दिरमा ढुंगा चढेर दर्शन गर्ने सकिने व्यवस्था मिलाउने तयारी भएको नगर प्रमुख रत्नबहादुर खड्काले सुनाए । तालको वरिपरि पक्की सडक निर्माण गरिने, घोडा चढी व्यवस्था मिलाउने, तलको एक छेउमा भ्यू टावर, ३ ठाउँलाई माछा मार्ने स्थान तोकिने, केही स्थानमा होटल व्यवस्थापन गरेर दैनिक आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारी थालिएको खड्काको भनाइ छ ।