close

सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट

कर्णाली राजमार्गको भर पर्नुपर्ने बाध्यता हट्दै

सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट

कर्णाली राजमार्गको भर पर्नुपर्ने बाध्यता हट्दै

Trulli
ADVERTISEMENT

दैलेख- दैलेख र कालीकोट सडक सञ्जालमा जोडिएपछि कर्णाली राजमार्गको भर पर्नुपर्ने बाध्यता हटेको छ । कर्णालीको वैकल्पिक मार्गका रूपमा प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत दैलेखको माथिल्लो डुंगेश्वर, दुल्लु, डाँडीमाडी, ब्याउली हुँदै कालीकोटको सेरी-पान्तडीअन्तर्गत २ जिल्ला सडक सञ्जालसँग जोडिएका हुन् ।

 

कर्णाली प्रदेशका ५ जिल्ला कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पाका लागि एउटा मात्र सडक कर्णाली राजमार्गको भर पर्नुपर्ने बाध्यता हटेको हो । 

 

पछिल्लो पटक दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ७ हुँदै कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ६ सँग सडक सञ्जाल जोडिएकाले जिल्लाको पर्यटन र आर्थिक विकासमा थप टेवा पुग्ने भैरवीपलिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।

 

बुढाले भने, ‘जनतासामु गरेको वाचा पूरा भएको छ । यो सडक अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गभन्दा करिब ७० किलोमिटर छोटो हुनेछ ।’ 


अहिलेसम्म यो सडकका लागि ५ करोड रुपैयाँ बढी खर्च भइसकेको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भालाराम पंगालीले जानकारी दिए ।

 

निकै कठिन पहाडमा साँघुरो मोड मिलाउँदै २ जिल्ला जोड्ने काम सकिएको र अब प्रदेश सरकारले यो वर्ष विनियोजन गरेको २९ करोड रुपैयाँ रकमले सडकको थप विस्तारका काम सुरु गरिने इन्जिनियर हीरासिंह थापाले बताए ।

 

कर्णाली राजमार्गअन्तर्गतको कालीकोटको पान्तडी-सेराबाडा जोड्न कालीकोटतर्फ १५ किलोमिटर सडकको काम बाँकी रहेको र उक्त सडक निर्माण भए वर्षमा ६ महिना साना सवारी साधन सहजै आउजाउ हुनेछन् ।

 
सुर्खेतको वीरेन्द्रनगर, दैलेखको माथिल्लो डुंगेश्वर, बैंकमालिका, दुल्लु कुसापानी ब्याउली हुँदै कालीकोटको शुभकालिका वडा नम्बर ६ को मेहेले, सेरी पान्तडीकाट जुम्ला, मुगु हुँदै उत्तरी नाका चीनको नाम्चेसम्म यो सडक निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको छ । 


केन्द्र सरकारले नेपालगन्जको जमुनाहा नाका-सुर्खेत, दैलेख बजार हुँदै महावु, कालीकोट जुम्ला-हुम्ला भएर नाम्चेसम्मको त्रिदेशीय सडकका लागि पनि दैलेखको महावु खण्डमा ट्रयाक खोल्ने काम सकिएपछि माथिल्लो कर्णालीका ५ जिल्लासँग दैलेखको ३ वटा स्थानबाट आउजाउ खुला भएको प्रतिनिधिसभाका पूर्वसांसद रवीन्द्रराज शर्मा बताउँछन्।