close

सिक्किमसँग जोडियो याङबरक

सिक्किमसँग जोडियो याङबरक

Trulli
ADVERTISEMENT

पाँचथर- पाँचथरको उत्तरी याङबरक गाउँपालिकाको चिवाभञ्ज्याङमा नेपालतर्फ सडक पुगेको एक दशक भयो । मध्यपहाडी लोकमार्गको सुरुआती बिन्दु भएकाले चिवाभञ्ज्याङ चर्चित छ । 

 

भारततर्फ भने सडक नहुँदा समस्या थियो । भारतको सिक्किम सरकारले पनि चिवाभञ्ज्याङसम्म सडक ल्याएपछि याङबरकबासीलाई सहज हुनेछ ।


सिक्किमको नेपालसँग सीधै सडक सम्बन्ध पहिलो पटक स्थापना भएको हो । नेपालसँग सीमा जोडिने ९९ किलोमिटर क्षेत्रमध्ये पहिलो पल्ट चिवाभञ्ज्याङमा सडक जोडिएको हो । पश्चिम सिक्किमको सोकपाखाबाट २५ किलोमिटर सडक निर्माण गरी चिवाभञ्ज्याङ ल्याइएको हो ।

 

भारततर्फ सडक बनेपछि मध्यपहाडी लोकमार्गको समेत महत्त्व बढेर गएको छ । चिवाभञ्ज्याङसम्म सडक पुग्नु महत्त्वपूर्ण भएको याङबरक गाउँपालिका प्रमुख लेखनाथ घिमिरे बताउँछन् । अब नाका खोल्न पहल गरिने उनले जानकारी दिए ।

 

दुवै देशतर्फ पारिवारिक सम्बन्ध भएकाले पनि यो सडक महत्त्वपूर्ण रहेको छ । यो बाटो भएर आवागमन बाक्लो हुन्छ । पर्यटकीय दृष्टिले पनि यो सडक महत्त्वपूर्ण मानिएको छ ।

 

मध्यपहाडी लोकमार्ग कालोपत्र गर्ने चरणमा छ । लोकमार्गको फिदिम आयोजना कार्यालयका अनुसार थर्पुदेखि चिवाभञ्ज्याङसम्मको ५१ किलोमिटर सडक कालोपत्रे गर्न ठेकेदारसँगको सम्झौता अन्तिम चरणमा छ ।

 

याङबरक गाउँपालिका मध्यपहाडी लोकमार्गले सडकमा भाग्यमानी छ । यहाँका सबै वडालाई मध्यपहाडी लोकमार्गले छुन्छ ।


सडक चिवाभञ्ज्याङ पुगेपछि उत्साह छाएको सिक्किमको उत्तरेका मिलन सपर्मणले बताए । उनका अनुसार सिक्किम सरकारले यो सडकलाई प्राथमिकतामा राखेको छ ।


भारततर्फ सडक बनेपछि आवागमन सहज, व्यापार व्यवसाय वृद्धि तथा पर्यटन क्षेत्रमा योग्दान पुग्ने अपेक्षा राखिएको याङबरक गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मोहन ढुंगेल बताउँछन् ।