close

एकै वडामा ११ एकीकृत बस्ती

एकै वडामा ११ एकीकृत बस्ती

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– भूकम्पपछि सिन्धुपाल्चोकमा सुरु भएको एकीकृत बस्ती निर्माण कार्यक्रमअन्तर्गत एकै वडामा ११ बस्ती बनेका छन् । सिन्धुपाल्चोका विकट भोटेकोसी गाउँपालिकाको वडा नम्बर ५ स्थित मार्मिङ गाउँमा ११ एकीकृत बस्ती निर्माण भएको हो ।


भूकम्पपछिको पुनर्निर्माणमा सहजता ल्याउन सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले पहिलो पटक एकीकृत बस्तीको अवधारणा ल्याएको थियो । सो बस्तीको प्रभावकारिताबारे चर्चा चुलिँदै गएपछि जिल्लामा २९ बस्ती निर्माण सुरु गरिएको थियो ।

 

मार्मिङको ११ बस्तीसहित २३ वटा बस्ती निर्माण सम्पन्न भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले जनाएको छ । इकाइ प्रमुख सन्तोषकुमार निरौलाले बाँकी रहेका बस्ती निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै सबै बस्ती निर्माणले पूर्णता पाउने बताए ।

 

मार्मिङमा निर्माण भएका ११ मध्ये ९ वटा बस्तीमा रहेका घरमा एकरूपता नभएको उनको भनाइ छ । यहाँ रहेका १० घरधुरीको राउत टोल एकीकृत बस्ती र २३ घरधुरी रहेको ट्यांगथली एकीकृत बस्तीका घर मात्रै समान छन् ।


गाउँमा पूर्वाधार र अन्य विकास निर्माणको काममा सहजता हुने भएकाले एकीकृत बस्ती निर्माण सुरु गरेको बस्ती स्थापनामा अगुवाइ गरेको समृद्ध नेपाल संस्थाका अध्यक्ष कुमार राउतले जानकारी दिए । ‘जीविकोपार्जन र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने गरी हामीले बस्तीको डिजाइन गरेका छौँ,’ राउतले भने ।


प्राधिकरणले पूर्वाधार निर्माणमा प्रतिघर ३ लाख रुपैयाँका दरले अनुदान दिने भएकाले पनि बस्ती निर्माणमा उत्साह थपिएको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । मार्मिङमा मात्रै ३ सय ६० परिवार एकीकृत बस्तीमा समेटिएका छन् ।

 

जिल्लाभर १ हजार १ सय ७७ परिवार एकीकृत बस्तीमा समेटिएको तथ्यांकमा उल्लेख छ । एकीकृत बस्ती निर्माणमा अधिकांश ठाउँमा संघ–संस्थाले सहजीकरण गरेका छन् । केही ठाउँमा भने समुदायको अगुवाइमै बस्ती निर्माणले गति लिएको छ ।

 

स्थानीयको सक्रियतामा संस्थाले सहजीकरण गर्दा बस्ती निर्माणमा सहज हुने गरेको हेलम्बुको तेम्बाथान, जुगलको सेलाङलगायत ठाउँमा एकीकृत बस्ती निर्माणमा सहजीकरण गरेको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्मा सुनाउँछन् ।


हरेक ठाउँमा भएका एकीकृत बस्तीको विशेषता पनि फरक भएकाले बस्ती निर्माणले पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने शर्माको ठम्याइ छ । हरेक एकीकृत बस्तीका बासिन्दा पनि बस्ती निर्माणपछि पर्यटक आउने अपेक्षा गर्छन् ।

 

हेलम्बुमा रहेको एकीकृत बस्तीमा ह्योल्मो संस्कृतिको मर्चेगुम्बा शैलीका घर निर्माण गरिएका छन् । ‘यो बस्तीमा पनि अन्यत्रका मान्छे घुम्न आउनेछन् भन्ने आश गरेका छौँ’, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा भन्छन् ।

 

एकीकृत बस्ती सुन्दर देखिने भएकाले नमुना हुने हुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणमा पर्ने गरेका छन् ।