close

साँघुरा तानसेनका फराकिला सडक (भिडियो खबर)

साँघुरा तानसेनका फराकिला सडक (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- पर्यटकीय जिल्लाको रूपमा स्थापित पाल्पामा सडक स्तरोन्नतिको काम सुरु भएको छ । सधैँको जाम र नागरिकले भोग्नुपर्ने सास्तीलाई दृष्टिगत गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो ।

 

पाल्पाको तानसेन नगरपालिकाकै संयोजनामा नयाँपाटीदेखि रिब्दीकोट गाउँपालिकासम्मको सीमामा पर्ने सडक चौडा पार्न थालिएको हो । 


पाल्पा सदरमुकाम तानसेन प्रवेश गर्ने सडक फराकिलो बनाउन थालिएको छ । साँघुरो सडकमा सवारीको चाप बढेकाले मुख्य राजमार्ग विस्तार गरिएको हो । 

 

डिभिजन सडक कार्यालय पाल्पासँग सहकार्यमा तानसेन नगरपालिकाले सडक चौडा पार्ने काम गरेको छ ।

 

तानसेन नगरपालिकाले सिद्धार्थ राजमार्गको नयाँपाटीदेखि बर्तुङसम्म र तानसेन-तम्घास सडकअन्तर्गत टक्सारदेखि रिब्दीकोट गाउँपालिकाको सीमासम्म सडक चौडा बनाइएको छ ।  

 

तानसेनदेखि रिब्दीकोटसम्मको सडक डबल लेनको बनाइएको छ । सिद्धार्थ राजमार्गको नयाँपाटीदेखि होलाङ्दी सम्मको नालीबाट ६ मिटर चौडा गरिएको  छ ।

 

तानसेन नगरपालिकाले तानसेनदेखि नयाँपाटीसम्म ९९ लाख र टक्सारदेखि रिब्दीकोटसम्म १ करोड रुपैयाँ बजेट विनियोजन गरेर सडक चौडा बनाइएको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताए ।


सडक विस्तारमा नगरपालिकाले कटान गर्ने र सडक डिभिजन कार्यालयले नाली र कालोपत्रे गरेको  छ । कालोपत्रे र टेवा पर्खाललाई कार्यालयले ८ करोड रुपैयाँको ठेक्का लगाएको छ । 

 

नगरभित्र पर्ने राजमार्ग र सहायक राजमार्ग साँघुरा भएको, सवारीको चाप वृद्धि भएसँगै अस्तव्यस्त बनेकाले सडक चौडाले नगर प्रवेशमा सहज हुनेछ । सडक विस्तारमा स्थानीयका पक्की संरचना जोगाउँदै खाली स्थान आवश्यक चौडा गरिएको छ । 

 

स्थानीय सरकारले विकासको पूर्वाधारको रूपमा सडक योजनालाई लिएका छन् । सडक चौडा गर्ने अभियानले पाल्पाको पर्यटन विकासमा समेत टेवा पुग्ने स्थानीय सोमनाथ अर्याल बताउँछन् ।

 

चुनढुंगा खानीबाट चल्ने टिपर, गुल्मी-अर्घाखाँचीसम्म चल्ने सवारीले नगरपालिका क्षेत्रको सडकमा सवारी चाप निकै बढी छ । सडक चौडा गर्न काम भएपछि निर्माण व्यवसायीले पक्की सडक खनेको माटो छाड्दा राजमार्ग भने धुलाम्मे बनेका छन् ।