close

व्यासको छांगरुमा सशस्त्र प्रहरी भवन निर्माण अलपत्र

व्यासको छांगरुमा सशस्त्र प्रहरी भवन निर्माण अलपत्र

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलास्थित व्यासको छांगरुमा सशस्त्र प्रहरी भवन निर्माण अलपत्र परेको छ । गत ९ असोजमा गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीले तामझामसहित शिलान्यास गरेको सशस्त्र प्रहरीको पक्की भवन अलपत्र परेको हो । 

 

व्यासको छांगरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी आधुनिक सुविधासम्पन्न भवन बनाउन थालिएको थियो । अत्याधुनिक सुविधासहितको ४० कोठे भवन निर्माण गत मंसिर पहिलो सातादेखि अलपत्र छ । 


भारतले अतिक्रमण गरेको कालापानीभन्दा झन्डै १४ किलोमिटर तल छांगरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको अत्याधुनिक भवन निर्माण हुन लागेको हो । १ वर्षभित्रै भवन निर्माण सक्ने गरी कुल १० करोड रुपैयाँ लागतमा भवन निर्माण सुरु गरिए पनि अहिले अलपत्र छ ।


भवनको शिलान्यासलगत्तै निर्माण व्यवसायी सुरेश चन्दले २ महिनाभित्रै भुइँतला निर्माण गरेर प्रहरी बस्न मिल्ने बताएका थिए । तर, अहिलेसम्म भवनको जग मात्र राखिएको छ । २ महिनाभित्रै बस्न मिल्ने गरी बनाउँछु भनेका निर्माण व्यवसायीले जगबाहेक केही हाल्न सकेका छैनन् । 

 

‘भवन निर्माणका लागि आवश्यक उपकरण, सामग्री जम्मा गरिएको छ तर निर्माण मंसिर पहिलो साताबाटै रोकिएको छ’, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका डीएसपी धीरेन्द्र शाहले भने, ‘व्यासी सौका समुदायको बसाइँसराइअगावै निर्माण व्यवसायी र मजदुरले छांगरु छाडेका हुन् । 


‘मंसिर पहिलो साता भवन निर्माणको जग हालेर गएका निर्माण व्यवसायी अझै फर्किएका छैनन्’, डीएसपी शाह भन्छन्, ‘ठेकेदारलाई ताकेता लगाउँदा यही फागुन अन्तिमसम्म जनशक्ति परिचालन गर्ने खबर आएको छ ।’

 

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग अतिक्रमण गरी वर्षभरि बस्न मिल्ने सैन्य अखडा स्थापित गरेको छ । सरकारले भारतले अतिक्रमण गरेका ३ वटै क्षेत्रलाई समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेर उक्त क्षेत्रमा पछिल्ला दिनमा सुरक्षाकर्मी परिचालन गरेको छ । 

 

पहिलो पटक सशस्त्र प्रहरी र नेपाल प्रहरी छांगरुमा बसेका हुन् । बाह्रैमास सशस्त्र प्रहरी बस्ने भएपछि उनीहरूका लागि सुविधासम्पन्न भवन बन्न लागेको हो । तर, भवन निर्माणमा भइरहेको ढिलाइले सशस्त्र प्रहरी गत वैशाखदेखि भाडाको घरमा बस्दै आएका छन् । 

 

विगतमा मंसिरदेखि हिमपात सुरु हुने गरेको थियो । तर, यो वर्ष व्यासमा बढी हिमपात भएको छैन । भएको ठाउँमा हिउँ पग्लिइसकेको छ । 

 

‘अत्यधिक हिमपातका कारण यहाँका सौका समुदाय ६ महिना सदरमुकाम खलंगा झर्ने गर्छन् । यस पटक कम हिमपात परेका कारण धेरै जाडोको अनुभव भएन’, उनले भने, ‘तैपनि हामीले आगो तापेर अहिलेसम्म ड्युटी गरेका छौँ । भारतीय सुरक्षा पोस्टमा न्यानो हुन्छ । हाम्रोमा आगोले न्यानो बनाएका छाैँ।’


सरकारले गत ३१ वैशाखमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट राख्ने निर्णय गरेको थियो । लगत्तै सरकारले नक्सा नै जारी गरेपछि २८ असारको मन्त्रिपरिषद् बैठकले व्यासमा बाह्रैमास सशस्त्र प्रहरीको गुल्म राख्ने निर्णय गरेको हो ।


सशस्त्र प्रहरीको भवन निर्माणका लागि स्थानीयले गागा क्षेत्रमा १५ रोपनी जग्गा सशस्त्रलाई दिएका छन् । सशस्त्र प्रहरी बाह्रैमास बसेपछि यो क्षेत्रमा चोरी–सिकारी नियन्त्रण र भारतीय अतिक्रमण गर्नबाट जोगाउन सकिन्छ ।