close

गाउँपालिकाको बजेटमा पहिरोपीडितलाई घर

गाउँपालिकाको बजेटमा पहिरोपीडितलाई घर

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सहयोगमा पहिरोपीडितले नयाँ घर बनाउन थालेका छन् । सुनकोसी गाउँपालिकाको वडा नम्बर ६ धुसेनीमा गत १४ भदौमा गएको पहिरोले घर बगाएपछि टेन्टमा आश्रित ३ परिवारका लागि गाउँपालिकाको सहयोगमा घर बनाउन सुरु गरिएको हो ।

 

पहिरोपीडितका घरको पूर्वसूचना तथा सञ्चारमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले शिलान्यास गरे । गाउँपालिकाले हरेक पीडितका लागि घर बनाउन ५ लाख रुपैयाँ सहयोग गरेसँगै निर्माण सुरु गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले पहिरोले घर बगाएकै दिन नयाँ घर बनाउन ५ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । २ महिनामा पीडितलाई नयाँ घरमा सार्ने लक्ष्यका साथ आवास निर्माण थालिएको हो ।

 

शिलान्यास गरिएकान घर एकै किसिमका हुने र अबको २ महिनाभित्रै पीडितलाई हस्तान्तरण गरिने सुनकोसीको वडा नम्बर ६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए । ‘गाउँपालिकाका प्राविधिकले बनाएको स्टिमेटअनुसारको घर बन्नेछ,’ उनले भने ।

 

गाउँपालिकाले दिने ५ लाखमा पीडितले ३ लाख घरको डिपिसी गरेपछि र बाँकी २ लाख रुपैयाँ निर्माण सम्पन्न भएपछि पाउने उनले बताए । सुनकोसीको धुसेनीमा गएको पहिरोले स्थानीय खिलबहादुर भण्डारी, चेतबहादुर भण्डारी र ईबहादुर भण्डारीको घर बगाएको थियो । घर बगाएपछि वडा कार्यालयको टेन्टमा भण्डारीत्रयको परिवार आश्रित थियो । 


पहिरोले घरवारविहीन भएकाको घर यसअघि बागमती प्रदेश सरकारले बनाइदिने घोषणा गरेको थियो । तर, प्र्रदेश सरकारले पहल नगरेका कारण गाउँपालिका आफंै अघि सरेको हो ।


बाढीले घरसँगै बाँकी घडेरीसमेत बगाएको थियो । घर बनाउने ठाउँ नभएका कारण ईबहादुरको घर केही पर खेतमा शिलान्यास गरिएको छ । उक्त स्थानमा खानेपानी र बिजुलीको सुविधा नभएपछि त्यसको समाधानसमेत गाउँपालिकाले गरिदिएको ईबहादुरले बताए । 

 

‘पोल गाडेर बिजुलीको व्यवस्था भएको छ । कालो तार राखिएको छ,’ उनले भने, ‘खानेपानीका लागि पाइपसमेत पाइएको छ ।’  घरको शिलान्यास कार्यक्रममा कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ का अध्यक्ष बालकृष्ण बस्नेतले ३ जना पीडितलाई घर बनाउन जनही २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

 

वडाअध्यक्ष थापाका अनुसार धुसेनी अझै जोखिममै छ । पहिरो जान सक्ने सम्भावना उत्तिकै छ । पहिरो गए धुसेनीमाथि रहेको सुन्धाराका २६ र धुसेनीका १२ घर जोखिममा छन् । धुसेनीमुनि रहेको पाखरदोभानसमेत जोखिममा पर्ने उनले बताए ।