close

तीन पाने तुइनको सास्ती

Trulli
ADVERTISEMENT

दार्चुला– वारि दार्चुला र पारि भारतको धार्चुला बीचमा जोडिएको छ, महाकाली नदी । बिहान ७ बजे दार्चुला–धार्चुला जोड्ने झोलुंगे पुलको ढोका खुल्छ । फेरि बेलुकी ५ बजे पुनः बन्द हुन्छ । पुलको ढोका खुलेसँगै स्थानीयको नेपाल– भारत अर्थात् दार्चुला–धार्चुला आउजाउ सुरु हुन्छ । यही वारिपारिको शृंखला सदरमुकाम खलंगामा मात्र नभई उत्तरतिरका आधा दर्जन ठाउँका तुइनमा पनि चल्छ । 

 

तुइनमा दैनिकी बिताउँदै छन्, व्यासको वडा नम्बर २ का कल्यानसिंह धामी । तुइनमार्फत आउजाउ गर्नेलाई सहयोग गर्छन्, धामी । ‘कयौँलाई तुइन तर्न आउँदैन । तुइन तर्न आएन भने महाकालीमा अकालमै ज्यान गइहाल्छ’, धामी सुनाउँछन्, ‘तीन पाने तुइनमा वारपार गर्नेलाई डोरीको सहारामा पठाउनुपर्छ ।’ 

 

धार्चुलाबाट १ घन्टाको गाडी यात्रापछि व्यासको तुइन क्षेत्रको यात्रा सुरु हुन्छ । भारतले कालापानी मार्ग भनेर यो सडक कालोपत्र गरेको छ । व्यासका स्थानीय नेपाल–भारत जोड्ने झोलुंगे पुल नहुँदा महाकाली नदीमा तीन पाने फलामे तुइनै तरेर घर आउजाउ गर्छन् । यो उनीहरूको दैनिकी नै हो ।

 

दैनिक उपभोग्य वस्तु मात्र नभई गर्भवती, सुत्केरी र बालबालिकालाई पनि त्यही तुइनमार्फत वारपार गराउनुपर्छ ।  ‘नेपालतिर सहज बाटो छैन । आफ्नै गाउँ आउजाउ गर्न नेपालको भन्दा सहज बाटो भारत हुन्छ’, व्यासको वडा नम्बर ३ का स्थानीय मानसिंह खातीले भने । भारततिर कालोपत्र सडक छ । महाकाली नदीमा तीन पाने फलामको डोरीमा तर्नेबित्तिकै गाउँ नजिकै हुन्छ । 

 

तर, आफ्नै भूमि भएर व्यास गाउँपालिकाको सुनसेरा पुग्न पूरै दिन लाग्छ । नेपालतिर भर्खर मात्रै सडकको ट्रयाक खुल्दै छ । सडक जोखिमपूर्ण भएको हुँदा यहाँका स्थानीय वर्षौंदेखि तुइनकै भर पर्छन् । ज्यानकै बाजी लगाएर जानुपर्ने ठाउँमा पनि स्थानीयले भारतीय एसएसबीको आँखा छल्नुपर्छ । 


एसएसबीले नियमित गस्ती गर्छन् । उनीहरू आए सीधै तुइन काटिदिन्छन् । तुइन अवैध भए पनि यहाँका नागरिकलाई सहज र छोटो बाटो यसैले जुटाइदिएको छ । देशमा झन्डै एक वर्ष बन्दाबन्दी हुँदा पनि यहाँका नागरिकले भारतकै खाद्यान्न लुकीछिपी यही तुइनबाट लगेको खाती सुनाउँछन् । ज्यानकै बाजी लगाएर भए पनि यही बाटो हिँड्नुको विकल्प छैन । 


नेपाल सरकारले तुइन विस्थापन गर्ने नीति लिए पनि दार्चुलाको व्यास क्षेत्रमा अझै विस्थापन बाँकी छ । प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । त्यही तुइन विस्थापनअन्तर्गत दार्चुलाका लाली र तिगरमा झोलुंगे निर्माण भए भने अहिले व्यासकै बडुगाउँ माल र बाकुमा तुइन विस्थापनका लागि झोलुंगे पुल निर्माण गरिँदै छ । 

 

तर, तुइन विस्थापनमा ढिलाइ हुँदा स्थानीयले जोखिम मोलेरै आउजाउ गर्नुपरेको बताउँछन्, भारतीय नागरिक रवि सिंह । ‘दुई देशबीच रोटी–बेटीको सम्बन्ध छ । भिन्नता केही पनि देखिँदैन, यो क्षेत्रमा । बोली एउटै, बिहेबारी वारिपारि छ । धार्चुलाबाट दैनिक उपभोग्य वस्तु यही क्षेत्रबाट ढुवानी हुन्छ । नेपालतिर सडक सञ्जालले भर्खर मात्रै जोडिँदै छ । हामी पनि यही तुइन तरेर नेपाल जान्छौँ’, रविले भने ।

 

तर, दुवै पक्षले यस क्षेत्रका जनतालाई हेरेका छैनन् । नेपालतिर भरपर्दो बाटो नभएकै कारण व्यासीहरू भारतीय सडक मार्गको पहुँच भएको क्षेत्रबाटै खाद्यान्नलगायत सामग्री निर्यात गर्छन् । स्थानीय गणेशसिंह धामी नेपालतिरको सडक कालोपत्रे नभएसम्म भारतकै बाटो प्रयोग गर्न सहज हुने बताउँछन् । 

 

खाद्यान्न उत्पादनको हिसाबले यो क्षेत्रमा ३ देखि ६ महिनासम्म खान मुस्किलले सकिन्छ । दैनिक मजदुरी गर्न भारततिरै जानुपर्छ । दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर २ राप्ला, दुम्लिङ, माल, वडा नम्बर ३ को सिना, वडा नम्बर ४ को सुनसेरा, वडा नम्बर ५ धौलाकोटलगायतका स्थानीयले अहिले पनि तुइनकै प्रयोग गरेर आउजाउ गर्नुपर्छ ।

 

व्यासको तिगरममा नेपाल–भारत जोड्ने झोलुंगे निर्माण भए पनि अझै अधिकांश बस्ती जोड्ने पुल नहुँदा स्थानीयले आधा दर्जन बढी ठाउँमा तुइन प्रयोग गरेर आउजाउ गर्छन् । तुइन विस्थापनअन्तर्गत झोलुंगे पुल निर्माण समयमै सकिए तुइन तर्नुपर्ने बाध्यता अन्त्य हुने स्थानीय बताउँछन् । 


व्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकी अहिले व्यास क्षेत्रमै नेपाल– भारत जोड्ने झोलुंगे पुल निर्माण भइरहेकाले आगामी वर्षभित्र स्थानीयलाई आउजाउमा सहज हुने विश्वास व्यक्त गर्छन् । ‘१ वर्ष कोभिडका कारणले पुल निर्माण हुन सकेन’, उनले भने, ‘अहिले निर्माण व्यवसायीले निर्माणका सामग्री ढुवानी थालेका छन् । यसले छिट्टै तुइन विस्थापन हुने आशा पलाएको छ ।’

 

झोलुंगे पुल निर्माणमा ढिलाइ

 

दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्न लगाइएका तुइन विस्थापनअन्तर्गत झोलुंगे पुल निर्माणमा अझै ढिलाइ भएको छ । व्यास गाउँपालिकाको मालघाट, बडुगाउँ र मालिकार्जुन गाउँपलिकाको बाकुमा तुइन विस्थापनअन्तर्गत निर्माण भइरहेको झोलुंगे पुलमा ढिलाइ भएको हो ।


गत वर्षदेखि नै निर्माण सुरु भए पनि कोरोनाका कारण ११ चैतदेखि सीमा नाका बन्द र लकडाउन हुँदा पुल निर्माण १ वर्षदेखि रोकिएको थियो ।व्यासको वडा नम्बर२ को माल र वडा नम्बर ३ र ४ को बर्तीघाटमा झोलुंगे पुल निर्माण भइरहेको छ । यस क्षेत्रमा खम्पाचे रुविना जेभी काठमाडौंले झोलुंगे पुल निर्माणको लागि कुल २ करोड ७३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको छ । 

 

बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न कुल २ करोड ५५ लाख ६४ हजार रुपैयाँलागतमा सम्झौता भएको हो । अहिले कोभिड कम हुँदै जानु र सीमा नाका खुलेसँगै पुल निर्माण सामग्री ढुवानी शुरु गरिएको मालिकार्जुन निर्माण सेवाका निर्माण व्यवसायी दीपक साउदले बताए । 


उनले भने, ‘पुलका लागि चाहिने लठ्ठा र आवश्यक उपकरण ढुवानी भइसकेको छ । अब चाँडै निर्माणले गति लिन्छ । सीमा नाका बन्द नभएको भए अहिलेसम्म पुल बनिसक्थ्यो । अहिले दार्चुला–धार्चुला हुँदै निर्माण स्थलमा सामग्री ढुवानीको काम चलिरहेको छ ।’ यसअघि मालिका निर्माण सेवाले लेकम गाउँपालिकाको वडा नम्बर ३ लालीमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण गरेको थियो । लालीमा झोलुंगे पुल निर्माणपछि त्यो क्षेत्रमा सञ्चालन हुने ट्युब विस्थापन भएको थियो ।