close

स्थानीय सरकारलाई सडक खन्नै हतारो

अन्न उब्जिने खेतबारी नामेट पारेर कोतरिएका सडक वर्षौंदेखि अलपत्र

स्थानीय सरकारलाई सडक खन्नै हतारो

अन्न उब्जिने खेतबारी नामेट पारेर कोतरिएका सडक वर्षौंदेखि अलपत्र

Trulli
ADVERTISEMENT

कालीकोट- कालीकोटका स्थानीय सरकारले आफ्नो पहिलो वर्षमै बाटाघाटा निर्माणलाई पहिलो प्राथमिकता राखेर धमाधम सडक खन्न सुरु गरे । विकट कालीकोटका लागि सडक पहिलो आवश्यकता पनि थियो । 

 

९ वटा स्थानीय तह रहेको कालीकोटमा खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकामात्र कर्णाली राजमार्गसँग जोडिएका थिए । बाँकी ७ वटा स्थानीय तहलाई घरगाउँको सरकार आउँदासम्म कतै पनि सडक सन्जालले छोएका थिएनन् । 


कर्णालीभित्रको निम्छरो पूर्वाधार अवस्थालाई परिवर्तन गर्न र सिंहदरबारको अधिकार गाउँमा आएको देखाउन यहाँका सबै स्थानीय तहले सडक खन्नमै पहिलो प्राथमिकता राखेर धमाधम स्काभेटरमार्फत गाउँ-गाउँमा सडक निर्माण सुरु गरे ।

 

बजेट अभाव, राजनीतिक खिचातानी, स्थानीयको अवरोध र खनिएका सडकको स्तरोन्नति गर्न नसक्दा कालीकोटको ग्रामीण क्षेत्रका सडक वर्षाैँदेखि अलपत्र अवस्थामा रहेका छन् ।

 

रास्कोट नगरपालिकाको वडा नम्बर ६ रोहोटेदेखि वडा नम्बर १ को पोद्मारा सडकसम्म जोड्ने तल्लो सडक अलपत्र परेको लामो समय भइसक्यो । 

 

गत वर्षको वैशाखमा नगरपालिकाले आफ्नै स्काभेटर (डोजर) मार्फत पाक्नै लागेको गहुँ, जौउ बाली फाँडेर सडक खन्न सुरु गर्‍यो । 

 

‘गाउँमै सडक आउने भए भनियो । अन्नबालीको के लोभ गर्नू भनेर बारीकान्ला मास्न दियौँ’, रास्कोट नगरपालिका वडा नम्बर २ का गौरी सिम्खाडाले भने, ‘घरको आँगनमै सडक पुग्यो भने पिठ्युँमा भारी बोक्नु नपर्ला, गाडीबाटै घरको आँगनमै ओर्लिउँला, गाडी चले सडकमै बसेर केही व्यापार व्यवसाय गरी जीविका चलाउने सोचले जमिनमा डोजर चलाउन दिए पनि अहिलेसम्म सडक बनेन ।’

 

अहिले खनिएको सडकमा न गाडी चल्छन् न त बाली लगाउन सकिएको उनको गुनासो छ । नगरपालिकाले जग्गाको मुआब्जा पनि नदिएको उनले बताए ।

 

विकास देखाउने हतारोले गरिब बस्तीका हरियो अन्नबालीसहितको जमिनमा डोजर चलाउन आवश्यक नभएको उनको भनाइ छ ।

 

‘खनिएका सडक अलपत्र अवस्थामा छाड्नु थियो भने हरियो बालीमा डोजर नचलाउनुपर्ने हो’, उनले भने ।

 

आफ्नो जग्गामा डोजर चलाउन दिएका गौरी मात्र होइनन्, स्थानीय मनि सिम्खाडाले पनि नगरपालिकाले आफ्नो रोजीरोटी खोसेको आरोप लगाए । 

 

‘खेतीयोग्य सडक भनेकै यही यो । यही जमिनमा सडक खन्न दियौँ । अहिले न गाडी आयो, न त खेती नै । डोजरले सडक खनेपछि बाँकी रहेको जग्गा पनि पहिरोले लिन थालेको छ’, मनिले भने । 


खेतीयोग्य जमिनमा डोजरले सडक खन्दा, नगरपालिकाका, गौँतु, पुछडेबाडा, चुडीमूल, रावलबाडालगायत क्षेत्रमा गत वर्षको साउने अविरल वर्षाले खेतभरि पहिरो गएको उनको गुनासो छ ।

 

धान उत्पादन हुने खेतबाटै सडक लगिएकाले छाडा पशु चौपायाले समेत बाँकी रहेको अन्नबाली खाएर सखाप पार्न थालेको उनको भनाइ छ ।

 

१५ किलोमिटर सडक खनिसकिए पनि १ किलो मिटर सडक निर्माण मात्र बाँकी रहेको नगरपालिकाले जनाएको छ । केही स्थानीयको अवरोधका कारण सडक अधुरै रहेको नगरप्रमुख काशीचन्द बरालले जानकारी दिए ।

 

उनले भने, ‘१५ किलोमिटर सडक खनिसकेपछि केही स्थानीयले आफ्नो जमिनमा खन्न नदिने भन्दै अवरोध गरेपछि १ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।’ 

 

स्थानीय जग्गाधनीसँग सहमति गरेर सडक निर्माण सम्पन्न गरी छिट्टै गाडी सञ्चालनमा ल्याइने दाबी बरालको छ । यस्ता अधुरा सडक यहाँका स्थानीय तहका विभिन्न क्षेत्रमा असरल्ल छन् ।