close

खाँडाचक्रकाे घर दैलोमै पुग्याे खानेपानीका धारा 

खाँडाचक्रकाे घर दैलोमै पुग्याे खानेपानीका धारा 

Trulli
ADVERTISEMENT

कालीकोट- कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ७ पिली तलसेराकी सीता मल्लका परिवारलाई अहिले सजिलो भएको छ । सार्वजनिक धाराबाट घन्टौँ लगाएर खानेपानी जोहो गर्ने गरेकी मल्लले अहिले घरआँगनमै खानेपानीको सुविधा लिन थालेकी छन् ।


गाउँको धाराबाट पानी ल्याउँदा खर्च हुने समय अहिले मल्ल परिवारले अन्य काममा लगाउने गरेको छ । मल्ल मात्र होइन, यस भेगका घरघरै पानीका धारा पुगेपछि सहज हुँदै गएको छ । 


यसअघि पानीको जोहो गर्न धेरै समय लाग्ने गरेकामा अहिले आँगनमै धारा पुगेपछि पिठ्युँमा गाग्री बोकेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता अन्त्य भएको मल्लले सुनाइन् । ‘२०४५ मा विस्तार गरिएको पाइपलाइनबाट खानेपानीको गर्जो टारिरहेका थियौँ,’ उनले भनिन्, ‘१५-२० घरले साझा धारा प्रयोग गर्थ्याैँ । धेरैले एउटै धारा प्रयोग गर्दा पालो कुर्नुपर्ने थियो । पाइपलाइन जीर्ण बन्दा बेलाबेला पानी अवरुद्ध हुन्थ्यो । अब भने समस्या हटेको छ ।’


घरको दैलोमा खानेपानीका धारा पुगेपछि सोही टोलकी लालकौरा मल्ल पनि खुसी छन् । ‘घन्टाैँ लगाएर डोकोमा पानी बोक्ने गथ्र्यौं । अब घरको दैलोमै खानेपानीका धारा पायौँ’, उनले भनिन्, ‘यस्तो सुविधा हाम्रै पालामा पाइएला भन्ने सोचेकी थिइनँ’, उनले खुसी हुँदै भनिन् । पानी बोक्ने समय अरू काममा दिन थालेको उनी सुनाउँछिन् ।

 

वडा नम्बर ७ पिलीलाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ । नगरप्रमुख जसीप्रसाद पाण्डे, उपप्रमुख विजया विष्टलगायत सरोकारवालाको सहभागितामा पिलीलाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।

 

युनिसेफ र मानव अधिकार तथा वातावरण विकास केन्द (हुरेन्डेक) नेपालको सहयोगमा निर्माण भएका धारा खाँडाचक्र नगरपालिका वडा नम्बर ७, ५,११ र २ गरी ३ सय ७२ घरका दैलोमै खानेपानीका धारा निर्माण गरिएको जिल्ला संयोजक गणेशबहादुर रावलले बताए । 

 

उनले भने, ‘शुद्ध खानेपानीका १० वटा सूचक पूरा गरिसकेपछी नगरपालिकाका ४ वटा वडालाई सुरक्षित खानेपानीयुक्त वडा घोषण गर्न लागिएको हो । पहिलो पटक पिलीको वडा नम्बर ७ लाई गरेका हौँ भने क्रमशः २, ११, ५ नम्बरलाई पनि घोषणा गर्छौं ।’

 

उनका अनुसार सुरक्षित खानेपानीयुक्त घोषणा गर्नेमा कर्णाली प्रदेशकै पहिलो खाँडाचक्र नगरपालिका भएको छ । ३ सय ७२ घरको आगँनमै खानेपानीको धारा पुर्‍याउन नगरप्रमुख पाण्डेले नगर सरकार र संघसंस्थाको पहलमा आफ्नो कार्यकालभित्रै बाँकी रहेका ७ वटा वडाका घरघरमा शुद्ध खानेपानी पुर्‍याएरै छाड्ने बताए ।

 

घोषणा कार्यक्रममा नगरप्रमुख पाण्डे, उपप्रमुख विष्ट, वडाध्यक्ष रजबहादुर मल्लले धाराको पानी भरेर स्थानीय र आफैं पिएर पिली सुरक्षित खानेपानीयुक्त वडा भएको घोषणा गरे ।