close

कर्णालीले विच्छेद गरेको सम्बन्ध पक्की पुलले जोड्यो 

कर्णालीले विच्छेद गरेको सम्बन्ध पक्की पुलले जोड्यो 

Trulli
ADVERTISEMENT

दैलेख– एउटा छेउबाट कर्णाली राजमार्ग, अर्को छेउ मध्यपहाडी राजमार्ग । त्यसमा पनि दुवैतिर पक्की सडक अनि बीचमा कर्णाली नदी । नदी वारपार गर्न स्थानीयलाई जोखिम मोलेरै डुंगाबाट तर्नुपर्ने बाध्यता थियो । 

 

दुवैतिरको बाटो जोड्न बाधक बनेको कर्णाली नदीमा पक्की पुल निर्माण भएसँगै टाढाको कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको अछामको सम्बन्ध जोडिएको छ । 

 

पक्की पुल बनेपछि सहज रूपमा ओहोरदोहोर हुने भएको छ । कर्णाली नदीले छुट्याएको सम्बन्ध पक्की पुलले जोडिदिएको हो । पक्की पुलले २ जिल्लाको सम्बन्ध मात्र जोडेन, यसले कर्णाली र सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिलाई पनि नजिक ल्याएको छ ।

 

पक्की पुल बनेपछि स्थानीयको अनुहारमा खुसीयाली थपिदिएको छ । ‘यस्तो दिन आउला भनेर सोचेका पनि थिएनौँ । यसरी सहज यातायात होला भनेर कल्पना पनि गरेका थिएनौँ । अहिले मध्यपहाडी राजमार्गअन्तर्गत कर्णाली नदीमा पक्की पुल बनेपछि २ वर्षदेखि यहाँका बासिन्दालाई निकै सहज भएको छ’, स्थानीय दीपेन्द्र विष्टले भने ।

 

पुल नहुँदा डुंगा तर्नुको विकल्प थिएन । पक्की पुल निर्माणसँगै अहिले कर्णाली राजमार्गको राकमकर्णाली पुग्ने जोकोही पनि समय बचत गरेर अछाम पुगेर आउने गर्छन् भने अछामको विनायक पुग्नेहरू दैलेखको राकम कर्णाली पुगेर फर्कने गर्छन् ।

 

यसले दुवैतिरको आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको स्थानीय विष्टले जानकारी दिए । मध्यपहाडी राजमार्ग परियोजनाभित्र रहेर निर्माण गरिएको यो पुल करिब २ वर्षदेखि सञ्चालनमा छ । पुलले सम्बन्ध जोडिदिएपछि यहाँको जनजीवनै फेरिएको स्थानीय सुनाउँछन् ।

 

काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायत जिल्लाबाट अछाम जाने यात्रु अहिले राकम कर्णाली हुँदै यात्रा गर्ने गर्छन् । यसअघि कोहलपुर भएर अत्तरिया हुँदै अछाम जाँदा करिब १ सय ५० किलोमिटर लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । 

 

अहिले राकमकर्णाली नजिकको बेल खेतबाट अछाम सदरमुकाम जाँदा जम्मा ४९ किलोमिटर मात्र यात्रा गर्नुपर्ने भएपछि यसअघि सुनसान हुने बेल खेतमा व्यापार व्यवसायसमेत बढेको स्थानीयको भनाइ छ । 

 

अहिले दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन् । मध्यपहाडी राजमार्गले जोडिएको पहाडी बस्तीको सम्बन्धले एकआपसमा उत्पादन भएका सामग्री बिक्री वितरण, भेटघाट मात्र हैन, आन्तरिक र बाह्य पर्यटनमा समेत सहयोग पुगेको छ । अहिले मध्यपहाडी सडक खण्डका विभिन्न स्थानमा सडकसँगै पक्की पुल निर्माणले तीव्रता पाएको छ । 

 

अहिले दैलेख खण्डमा २ वटा पुल निर्माण तीव्र पारिएको छ भने आठवीस नगरपालिकाको सात तलामा पुलको डिजाइन पेस गर्ने काम सुरु भएको छ । जाजरकोट खण्डमा २ वटा पुल निर्माणको काम सुरु भइरहेको छ । ५ वटा पुल निर्माण हुनेबित्तिकै असारमा पनि मध्यपहाडमा यातायात सञ्चालनमा सहज हुने मध्यपहाडी आयोजनाले जनाएको छ । 

 

जाजरकोट, दैलेख र अछाम खण्डका विभिन्न ५ वटा स्थानमा पक्की पुल निर्माण सम्पन्न भए बाह्रैमास यातायात सञ्चालन सहज हुने मध्यपहाडी आयोजनाका प्रमुख डा. नारायणप्रसाद न्युरेले बताए ।