close

निकुञ्जले काट्न नदिएपछि सालको रूखमै कालोपत्रे सरर

निकुञ्जले काट्न नदिएपछि सालको रूखमै कालोपत्रे सरर

Trulli
ADVERTISEMENT

चितवन- हुलाकी सडकमा परेका सालका रूख काट्न समन्वय नहुँदा पर्साको ठोरीमा कालोपत्रे सडकको बीचमै रूख ठडिएका छन् । सडकको बीचमै रहेका रूखबाटै कालोपत्रे गरिएको छ ।

 

ठोरी क्षेत्रमा हुलाकी सडक बनाइरहेको कालिका बानियाँ जेभी कन्स्ट्रक्सनले सडक खण्डमा पर्ने रूख कटानका लागि पटक-पटक इजाजत माग्दा पनि निकुञ्जले अनुमति नदिएपछि बीच सडकमा सालको रूख छाडेर कालोपत्रे गर्नुपरेको ठेकेदार कम्पनीले बताएको छ ।

 

यसबाहेक मध्यवर्ती क्षेत्रमा सडक निर्माण भइरहेकाले त्यसलाई रोक्न निकुञ्जले निर्देशनसमेत दिएको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिए ।

 

निकुञ्जको निर्देशनसँगै ठोरीको वडा नम्बर १ र २ मा सडक निर्माणको काम प्रभावित भएको छ । यसबारे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले रुख कटानका लागि ठेकदार कम्पनीले प्रक्रिया पूरा नगरेको हुँदा मन्त्रीस्तरीय निर्णय आवश्यक पर्ने बताए ।

 

सडक निर्माणमा त्रिपक्षीय रूपमा कमजोरी रहेको स्थानीय बताउँछन् । हुलाकी सडक आयोजना, ठेकेदार कम्पनी र सरकारको लापरबाहीका कारण अहिलेको अवस्था आएको उनीहरूको बुझाइ छ । ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले फेसबुकमा पोस्ट गरेको सो फोटो सामाजिक सञ्जालमा ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै भाइरल भइरहेको छ ।