close

घोषणा गरेको ६ वर्षपछि बल्ल बन्ने भो धौलीगाडमा पुल

घोषणा गरेको ६ वर्षपछि बल्ल बन्ने भो धौलीगाडमा पुल

Trulli
ADVERTISEMENT

दार्चुला– मुआब्जा विवादका कारण अलपत्र परेको महाकाली नगरपालिका वडा नम्बर ५ धौलीगाड खोलामा ६ वर्षपछि मोटरेबल पुल निर्माण सुरु हुने भएको छ ।

 

आर्थिक वर्ष २०७१÷७२ असार मसान्तमा पुल निर्माणका लागि आशीष कन्स्ट्रक्सन धनगढीसँग सम्झौता भएको २ करोड ३२ लाखको पुल मुआब्जा विवादका कारण अलपत्र थियो । 

 

मुआब्जा विवादका कारण निर्माण रोकिएको पुलका लागि सहमति भएपछि निर्माण अगाडि बढाइन लागेको हो । जग्गाधनीले पुलको उचित मुआब्जा नदिएको भन्दै सर्वोच्च अदालतमा उजुरी मुद्दा दायर गरेपछि निर्माण रोकिएको थियो । 

सर्वोच्चको फैसलापछि जग्गाधनीले माग गरेको रकम दिने सहमति जुटेसँगै निर्माण अघि बढ्ने भएको हो । पुल निर्माणको समय सो क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी ३८ लाख ५० हजार रुपैयाँ थियो ।


जग्गाधनीसँगको छलफलपछि पुल निर्माणको विवाद सुल्झिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । सर्वोच्चले महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैका जग्गाधनी तुलासिंह ठगुन्ना, हर्कबहादुर ठगुन्ना, विष्णुराम हुम्ली र कमला कुँवरको पक्षमा २०७३ मा फैसला गरेको थियो । 

 

जिल्लाको जग्गा दररेट निर्धारण समितिले मूल्य कम निर्धारण गरेको भन्दै जग्गाधनीले २०७१ मा उक्त समितिविरुद्धमा सर्वोच्चमा उजुरी हालेका थिए । पहिलेको मूल्यभन्दा पछिल्लो समय जग्गाको मूल्य निर्धारण घटाएको भन्दै जग्गाधनीले मुद्दा हालेका हुन् ।

 

सदरमुकाम खलंगाको गल्फै क्षेत्रमा सरकारी दररेट ३८ लाख ५० हजार रहेकामा समितिले आधा घटाएर १९ लाख २५ हजार रुपैयाँ कायम गरेपछि स्थानीयले पूल निर्माण रोकेका थिए ।

 

पुलको एकातिरको पिलर गाडेकै बेला जग्गाधनीले सर्वोच्चमा मुद्दा हालेपछि निर्माण रोकिएको थियो । अहिले मुआब्जा दिने विषयमा राज्य सहमत भएपछि पुल निर्माण अघि बढ्ने भएको जग्गाधनी हर्क ठगुन्नाले बताए ।