close

आफन्तबाटै सुरक्षित छैनन् किशोरी

आत्मसुरक्षा उपायको खोजी

आफन्तबाटै सुरक्षित छैनन् किशोरी

आत्मसुरक्षा उपायको खोजी

Trulli
ADVERTISEMENT

दार्चुला- गत २२ चैतमा महाकाली नगरपालिका वडा नम्बर ५ मा १९ वर्षीया किशोरी आफ्नै प्रेमीबाटै बलात्कृत भइन् । दुहुँ गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय दिनेशबहादुर बमले आफ्नो कोठामा भेट्न बोलाएर बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गएर जाहेरी दिएपछि घटना बाहिर आयो ।

 

अहिले त्यो मुद्दा दर्ता प्रक्रियामा छ । आफू बलात्कृत हुँदा पनि प्रतिकार गर्न नसकेको पीडा ती किशोरीमा परेको छ ।

 

गत २३ फागुनमा सदरमुकाम खलंगामा डेरा गरी अध्ययन गर्दै आएकी १८ वर्षीया किशोरीलाई मार्मा गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय अशोक महरले बलात्कार गरे । भेट्न बोलाएका बेला बलात्कृत गर्दा प्रतिवाद गर्न सकिनन् ।

 

१ महिने अवधिमा आफ्नै प्रेमीले बलात्कार गरेको पछिल्लो उदाहरण मात्रै हुन्, दार्चुलाका यी २ घटना ।

 

पछिल्लो समय जिल्लामा आफन्तबाटै बालिका असुरक्षित छन् भन्ने उदाहरण थुप्रै छन् । आफ्नै प्रेमीबाटै किशोरी बलात्कृत । स्कुलसम्म पुग्न र घरमा फिर्ता हुँदा पनि त्रसित हुनुपर्ने बाध्यता किशोरीमा परेको छ । 


यस्ता घटना दोहोरिन थालेपछि दार्चुलामा किशोरी र बालिकालाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम दिइन थालिएको छ । बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन स्कुलमै आत्मरक्षा तालिम दिइन थालेको हो । 

 

सामुदायिक ग्रामीण विकास समाज नेपालसँगको सहाकार्यमा गुड नेभर्सको प्राविधिक तथा प्रहार संस्थाको समन्वयमा किशोरी तथा बालिकालाई विद्यालयमै आत्मरक्षा तालिम दिइन थालेको हो ।

 

जिल्लाका ६ वटा विद्यालयमा पहिलो चरणमा तालिम सुरु गरिएको तालिमकी प्रशिक्षक कल्पना पालले जानकारी दिइन् । 

 

जिल्लाकै अगुवा किशोरीले धनगढीमा तालिम लिएर अहिले जिल्ला स्तरमा तालिम दिन थालेका हुन् । २ दिनसम्म दिइने तालिममा बालिका र किशोरीले यौनहिंसा भए वा कसैले बलात्कार प्रयास गरे प्रतिकार गर्ने उपाय सिक्न थालेका छन् ।

 

गलत नियतले हात समाते, पछाडिबाट अँगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने ७ वटा उपाय तालिममा सिकाउने गरिएको प्रशिक्षक पाल बताउँछिन् ।


तालिमपछि किशोरी तथा बालिकाले  आत्मरक्षामा बल पुगेको बताएका छन् । सरस्वती मावि सेलिचामा अध्ययनरत दीपा जोशी तालिमपछि प्रतिकार गर्ने उपाय सिकेको सुनाउँछिन् । ‘यो तालिम निकै प्रभावकारी भयो’, उनले भनिन्, ‘२ दिन मात्र हैन, अझै बढी हुनुपर्छ । समाज गलत बाटोतर्फ गइरहेका बेला हामीलाई यो तालिम लाभदायी छ ।’

 

यौनहिंसाबाट बच्ने उपाय सिकेपछि कसैले बलात्कार प्रयास गरे प्रतिकार गर्न सक्ने सीप जानेको उनले बताइन् । ‘यो सीप अरूलाई पनि सिकाउनेछौँ । पहिलाभन्दा आत्मविश्वास र सुरक्षित महसुस भएको छ,’ उनले भनिन् । 

 

बलात्कार प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, अनुहार चिथोर्ने, शरीरमा टोक्ने वा संवेदनशील अंगमा प्रहार गर्नेलगायत उपाय तालिममा सिकेको उनले बताइन् । हिंसा प्रयास भए प्रतिकारको पूर्वतयारी अपनाउँदा धेरै सहज हुने विश्वास विद्यार्थीमा बढेको छ । 

 

पहिलो चरणमा दार्चुलाका महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका ६ विद्यालयमा २/२ दिने आत्मरक्षा तालिम दिइने अर्की प्रशिक्षक मनिका ओडले बताइन् । तालिमअन्तर्गत महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुस्थित राष्ट्रिय माविमा कक्षा ६ देखि कक्षा १० सम्मका १०४ जनालाई तालिम दिइएको छ । 

 

यस्तै, मालिकार्जुनको सरस्वती मावि सेलिचामा ६० जना किशोरी तथा बालिकालाई तालिम दिइएको छ । मालिकार्जुन मावि मडमा १३५ जना किशोरी तथा बालिका सेल्फ डिफेन्स तालिममा सहभागी भएका छन् ।

 

अहिलेसम्म ३ वटा विद्यालयमा दिइएको तालिममा किशोरी तथा बालिकाको उत्साहजनक सहभागिता छ ।

 

गुड नेभर्सको कार्यक्रम सञ्चालन भएका स्थानीय तहका विद्यालयमा यो तालिम दिइँदै छ । यो संस्थाले शंकरपुर मावि पस्ती, कृष्ण मावि डाँडाकोट र सरस्वती मावि उकुमा तालिम दिने जनाएको छ ।