close

जुम्लीबाडाका ६१ घरधुरीमा खेतबारी सिँचाइ कुलोले हराभरा

जुम्लीबाडाका ६१ घरधुरीमा खेतबारी सिँचाइ कुलोले हराभरा

Trulli
ADVERTISEMENT

कालीकोट- अकासे पानीको भरमा खेती गरिरहेका कालीकोटको पचालझरना गाउँपालिका वडा नम्बर ८ जुम्लीवाडाका ६१ घरधुरीले लामो समयपछि अन्न फल्ने खेतबारीमै सिँचाइ कुलोको सुविधा पाएका छन् । हिउँद होस् वा बर्खा । अकासेपानीको भरमा खेती गर्न बाध्य जुम्लीबाडाका किसान खेतमै कुलो पुगेपछि खुसी भएका छन् ।


जुम्लीबाडाका किसानले १२ वर्षदेखि सिँचाइ अभावमा सोचेजस्तो खेती गर्न सकिरहेका थिएनन् । ‘कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलन (क्याप्स(कर्णाली) परियोजना’ को आर्थिक तथा प्राविधिक सहयोगमा  जुम्लीबाडा सिँचाइ कुलो निर्माण भएको हो ।

 

मानव अधिकार तथा वातावरण विकास (केन्द्र) हुरेन्डेक नेपाल कालीकोटको  सहजीकरणमा सिँचाइ कुलो निर्माण गरिएको हो ।


परम्परादेखि चलिआएको ४२५ मिटर कच्ची कुलोको स्तरोन्नति गर्नुका साथै थप नयाँ २५५ मिटर कुलो निर्माण गरी करिब २० हेक्टर खेतीयोग्य जमिन सिञ्चित गर्र्ने लक्ष्य राहेको क्याप्स कर्णाली परियोजनाका जिल्ला संयोजक नरेन्द्रबहादुर शाहीले बताए ।

 

शाहीका अनुसार कुलो निर्माणका लागि  ४१ लाख४७ हजार ६ सय ११ रुपैयाँ ७७ पैसा खर्चिएको छ । कुलो निर्माण, पोखरी निर्माण र अस्थायी शौचालयसमेत निर्माण गरिएको छ । 

 

हुरेन्डेक नेपाल कालीकोटका कोषाध्यक्ष दिलीपकुमार शाहीसहित वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्लेको टोलीले आयोजनाको अनुगमन गरेको छ ।

 

पचालझरना गाउँपालिकाको पणेक्षामा रहेको नर्सरी, सामुदायिक सेवा केन्द्रलगायत गाउँपालिकामा क्याप्स कर्णाली परियोजनाले सञ्चालन गरेका क्रियाकलापको अनुगमन गरिएको हो ।

 

पानी व्यवस्थापन गर्न मुहान नजिक ३० घनमिटर क्षमताको एउटा पोखरी निर्माण गरी चुहावटको समस्यालाई रोकथाम गर्न र आवश्यक परे पानी खोल्न र बन्द गर्न मिल्ने आधुनिक पोखरी निर्माण गरिएको क्याप्स कर्णाली परियोजनाका इन्जिनियर आकाश परियारले बताए ।

 

विगतमा सञ्चालन हँुदै आएको कुलोको  अधिकांश भाग कच्ची हुँदा पानी चुहावट धेरै भई सिँचाइ सुविधा प्रभावकारी हुन सकेको थिएन । 

 

पचालझरना गाउँपालिका वडा नम्बर  ८ जुम्लीबाडाकी आशा टमटा अब नयाँ तरिकाबाट कृषि खेती गरी आफ्नो जीविकोपार्जन गर्ने बताउँछिन् । उनले भनिन्, ‘अकासे पानीको भरमा खेती गर्नुपर्ने अवस्था थियो । हिउँदको खडेरीमा बाली सुकेर जान्थ्यो ।’

 

आशा टमटा मात्रै हैनन्, सोही गाउँकी रञ्जना टमटाले गाउँमा सिँचाइ सुविधा पुगेपछि उब्जनी बढ्ने बताइन् ।

 

आयोजनाबाट गाउँमा धान, गहुँ, मकै, जौ, चिनो, कागुनोजस्ता अन्नबालीका अतिरिक्त विभिन्न तरकारी तथा फलपूmल उत्पादनमा वृद्धि हुुनुका साथै व्यावसायिक तरकारी खेती तथा पशुपक्षीजन्य व्यवसायलाई टेवा पुग्ने जुम्लीबाडाका नागरिक बताउँछन् । 

 

गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जुम्लीबाडाका अन्य पानी नपुग्ने भूभागमा पनि सिँचाइ आयोजना निर्माण गरिने जानकारी दिए । 

 

भौगोलिक विकटताका कारण कालीकोटका अधिकांश बस्तीमा पानी अभाव छ । पानी खोलामा बगिरहेको हेर्न पाउँछन् तर खेतबारीसम्मै पु¥याएर सिँचाइ गर्न भने यहाँका नागरिकले अझै सकिरहेका छैनन् ।