close

उर्लाबारी-मधुमल्ला सडक: ९ वर्षसम्म अलपत्र भएपछि स्थानीय आन्दोलित

उर्लाबारी-मधुमल्ला सडक: ९ वर्षसम्म अलपत्र भएपछि स्थानीय आन्दोलित

Trulli
ADVERTISEMENT

मोरङ- मोरङको उर्लाबारी-मधुमल्ला जोड्ने सडक निर्माण अलपत्र बनेपछि स्थानीय आन्दोलित भएका छन् । सडक कालोपत्रे निर्माण सुरु भएको करिब ९ वर्ष हुँदा पनि पूर्णता पाउन सकेको छैन । सडक कालोपत्रेको माग राख्दै गत बिहीबारदेखि स्थानीयले उर्लाबारी वडा नम्बर ५ र ६ मा पर्ने डिबी मार्गमा बाँसको ढाट लगाएर सडक अवरोध गरेका छन् । 

 

२०६९ मा ठेक्का लागेको यो सडकको निर्माण ३ जेठ २०७१ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । सडकको दुरवस्थाका कारण दुर्घटना र धुलोको सास्ती पाएको स्थानीय गजेन्द्र दगालले बताए । 

 

ललितपुरको सातदोबाटोस्थित प्रेराज्योति जेभी कन्स्ट्रक्सनले उक्त सडक निर्माणको ठेक्का लिएको थियो । तत्कालीन पूर्वाञ्चल डिभिजन सडक कार्यालय विराटनगरले ठेक्का लगाएको उक्त सडक अहिले प्रदेश सरकार मातहत छ । 


ठेक्का जिम्मा लिई काम गरेको ज्योति कन्स्ट्रक्सनले गुणस्तरीय र सम्झौताअनुसारको काम नगरेको स्थानीयको गुनासो छ । प्रेराज्योतिले अर्कै निर्माण कम्पनी ज्योतिलाई सहायक ठेक्का दिएको थियो । ज्योति कम्पनीले राम्रो काम नगरेपछि स्थानीयको विरोधसँगै प्रेराज्योति आफैंले सडक मर्मत सुरु गरेको थियो ।

 

२ वटा निर्माण कम्पनीको विवादपछि काम रोकिएको छ । अहिले सडक अलपत्र अवस्थामा छ । उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडकलाई यस भेगको समृद्धिको मेरुदण्ड मान्ने गरिएको छ । तर, ठेकेदारको लापरवाहीका कारण कालोपत्रे सम्पन्न हुन नपाउँदै बेहाल बनेको छ ।

 

तत्कालीन शिक्षामन्त्री नगेन्द्र प्रधानले २०२८ मा उक्त सडक शिलान्यास गरेका थिए । उर्लाबारीबाट रविसम्मको दूरी जम्मा ५२ किलोमिटर छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किमिमा कालोपत्रे भएको थियो । बाँकी खण्ड अझै धुलाम्ये छ । अहिले पाँचथरको रविबजार र आसपासका बासिन्दाले उर्लाबारी झर्नुपरे मेची राजमार्गको घुमाउरो बाटो करिब २१३ किमि पार गर्नुपर्छ ।

 
रविबाट झापाको दमक जोड्ने करिब ५९ किमिको सडकको २० किमि खण्ड रतुवा खोलामा पर्छ । सोही कारण वर्षायाममा उक्त सडकमा पनि यातायातका साधन बन्द हुने गरेको स्थानीय मानबहादुर श्रेष्ठ बताउँछन् ।

 

प्रदेश सरकारले बेवास्ता गर्दा सडकको बेहाल भएको प्रदेश सांसद कुलप्रसाद साँम्बाको आरोप छ । सडक बन्द भएपछि प्रदेशका मन्त्री तथा सांसदहरूले समेत सो अनुगमन गरेका छन् । सडक अनुगमनमा पुगेका भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङले सडक कालोपत्रे हुनुपर्ने एकसूत्रीय माग राखेर सडक अवरुद्ध गरेर बसेका स्थानीयलाई हप्काएका छन् ।

 

सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गनगाईले भने प्रदेश सरकारको आर्थिक निति प्रस्ट नहुँदा धेरै योजना अलपत्र परेको बताए । 


उर्लाबारी-मधुमल्ला-रवि सडक तयार भए ती दुवै मार्गको विकल्प बन्ने मात्र नभई यात्राको समय पनि छोटिनेछ । ताप्लेजुङ, पाँचथर र इलामबासीका लागि तराईसँग जोडिने सहज मार्गका रूपमा यसलाई लिने गरिन्छ । तर, राज्यले बेवास्ता गर्दा स्थानीय मारमा परिरहेका छन् ।