close

खोलाले बगायो पुल, स्काभेटरले बोक्छ मान्छे

खोलाले बगायो पुल, स्काभेटरले बोक्छ मान्छे

Trulli
ADVERTISEMENT

कालीकोट– कालीकोटको पचालझरना गाउँपालिका र रास्कोट नगरपालिका जोड्ने फुगाड खोलामा स्थानीय नागरिकलाई स्काभेटर 
(बकेट) मा राखेर तार्नुपर्ने बाध्यता छ । गत वर्ष साउनको अविरल वर्षाले खोलाको बेलीब्रिज पुल बगाएपछि फुगाड खोलामा पानीको बहाव बढ्दा स्काभेटरको बकेटमा मान्छे राखेर खोला वारपार गराइँदै आएको हो ।

 

 

कर्णाली करिडोरअन्तगर्तको फुगाडा खोलामा भएको बेलीब्रिज गत असारमा आएको बाढीले बगाएको थियो । बेलीब्रिज बगाएको करिब १ वर्ष पुग्न लाग्दा पनि सम्बन्धित निकायले चासो नदिँदा बर्खाको समय नागरिकलाई खोला तर्न समस्या हुने देखिएको छ ।

 

खोलामा पानी घटेपछि वैकल्पिक सडक निर्माण गरी यातायातका साधन सञ्चालन भइरहेका थिए । केही दिनदेखिको अविरल वर्षाले वैकल्पिक बाटो बगाएको छ ।

 

खोलामा पानीको बहाव ह्वात्तै बढेपछि नागरिकलाई आउजाउमा समस्या भएको हो । निषेधाज्ञाले यातायातका साधन बन्द भएपछि पैदल हिँड्ने नागरिकलाई खोला तर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ ।

 

‘पुल बगाएको १ वर्ष हुन लाग्यो । पुल निर्माणमा कसैको पनि चासो र चिन्ता छैन’, स्थानीय भानु बरालले भने, ‘यो बाटोमा कालीकोट मात्र होइन, बाजुरा, हुम्लालगायतका नागरिक हिँड्ने गरेका छन् । स्थानीय सरकार र कसैले पनि चासो दिएनन् ।’

 

गत वर्ष पलाँता गाउँपालिकाले वैकल्पिक रूपमा गाडी सञ्चालन गर्न खोलामा ढुंगा हालेर काम चलाएको थियो । केही दिनअघिको वर्षाले सबै बगाइदियो । पानीको बहाव बढेकाले नागरिकलाई खोला वारपार गर्न सडकमा काम गरिरहेको स्काभेटरको बकेटमा राखेर तार्नु परेको बरालले सुनाए ।

 

उनले भने, ‘अहिले निषेधाज्ञा भए पनि कर्णाली करिडोरमा दैनिक बिरामी र मालवाहक यातायातलाई आउजाउमा समस्या भएको छ ।’ स्थानीय सरकारले फुगाडमा बेलीब्रिज मर्मतका लागि समयमै चासो नदिए समस्या भइरहने उनको बुझाइ छ ।