close

बेमौसमी वर्षाका कारण बैतडीमा चार दर्जन बढी खानेपानी आयोजनामा करोडौँको क्षति

बेमौसमी वर्षाका कारण बैतडीमा चार दर्जन बढी खानेपानी आयोजनामा करोडौँको क्षति

Trulli
ADVERTISEMENT

बैतडी– गत ३१ असोजदेखि २ कात्तिकसम्मको बेमौसमी वर्षाका कारण बैतडीका दर्जनौँ खानेपानी आयोजनामा क्षति पुगेको छ । कतिपय खानेपानीका मुहान नदी तथा खोलामा आएको बाढीले बगाइदिएको छ भने अधिकांश खानेपानीका ट्यांकी, पाइप र च्याम्बरमा क्षति पुगेको छ ।

 

विभिन्न स्थानमा खसेको पहिरोले ५० बढी खानेपानी आयोजनामा क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएकोे खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

 

सरकारी लगानीमा निर्माण भएका ५० बढी आयोजनामा क्षति भएको हो भने धेरैजसो ठाउँमा स्थानीय आफैंले पाइप खरिद गरी घरघर पु¥याएको खानेपानीका मुहान र पाइप ध्वस्त भएका छन् । 


दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकामा अन्य ठाउँको तुलनामा खानेपानी आयोजनामा बढी क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले बताए ।  उनले भने, ‘अहिलेसम्म ५० बढी आयोजनामा क्षति पु¥याएको तथ्यांक आएको छ । योभन्दा बढी क्षति गरेको हुन सक्ने आकलन छ ।’


जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा रहेका खानेपानी आयोजनामा क्षति पुगेपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर ४ शाहीलेकका देवराम लोहारले भने, ‘हाम्रो नजिकका करिब १ दर्जन खानेपानीका आयोजना अवरुद्ध भएका छन् । नजिक धारा तथा कुवा केही छैनन् । अहिले पानी ल्याउन दैनिक २ घन्टा हिँडेरै पानी ल्याउनु परिरहेको छ । बोकेर ल्याएको पानी पिउन र खाना पकाउन मात्रै हुन्छ । सरसफाइ गर्न पुग्दैन । खानेपानी अभावमा शौचालयमा प्रयोग गर्नसमेत समस्या छ ।’

 

मुहानमै पहिरो खसेपछि कात्तिक पहिलो सातादेखि सदरमुकाम क्षेत्रमा खानेपानी हाहाकार भएको छ । जिल्ला सदरमुकाममा आउने खानेपानीको मुहानमा पहिरोले व्यापक क्षति पुर्‍याएपछि खानेपानी अवरुद्ध भएको हो । उक्त खानेपानी सुचारु गर्न जिल्लाका सरोकारवालाका साथै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेतको टोलीले लगातार ६ दिन काम गरेर मंगलबार बल्ल ट्यांकीसम्म पानी पु¥याउन सकिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 


पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुर्‍याएपछि ठाउँ–ठाउँमा खानेपानी अभाव भएको विभिन्न स्थानका स्थानीयले बताएका छन् । आयोजनामा क्षति पु¥याएपछि स्थानीय दूषित पानी प्रयोग गर्न बाध्य भएको सिगासका शिक्षक पदम साउदले जानकारी दिए । ‘अहिले खोलामा धमिलो पानी आउने गरेको छ । अन्य विकल्प नहुँदा यही पानी खान बाध्य छौँ । खानेपानीका सबै आयोजना छिट्टै र सहजै बन्ने देखिँदैन,’ साउदले भने । पहिरोले खानेपानीका मुहान नष्ट भएपछि स्थानीयले नदीकै दूषित पानी प्रयोग गरिरहेको उनले बताए ।