close

दर्जन बढी सडक बाढीले बगाएपछि नागरिकलाई सास्ती 

बाटो नहुँदा भीर छिलोचेरै यात्रा गर्नुपर्ने बाध्यता

दर्जन बढी सडक बाढीले बगाएपछि नागरिकलाई सास्ती 

बाटो नहुँदा भीर छिलोचेरै यात्रा गर्नुपर्ने बाध्यता

Trulli
ADVERTISEMENT

बैतडी–कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाले बैतडीको सिगास गाउँपालिकाका विभिन्न ठाउँमा सडक बगाएपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

 

अहिले सिगासका मुख्य सडक थलाकाँडा–देउरा, बोहरी–लेकम, फाङेपौड–मसानीधार, भौनेली पातलदेखि वडा नम्बर ७ कार्यालय जानेलगायत मुख्य सडक र गाउँघरमा ओहोरदोहोर गर्ने अधिकांश बाटा भत्किएका हुन् । 

 

दुर्गम क्षेत्रका करिब १५ सडक बाढीपहिरोले भत्काएको सिगास वडा नम्बर ७ लेकमका सुरेन्द्र साउदले बताए । ‘हाम्रो पालिकाभित्र १५–२० वटा सडक बाढीपहिरोले बगाएको छ । गुणस्तरीय बाटो त कतै थिएनन् । तर, हिँड्न सकिने थिए । तीमध्ये अधिकांश सडक बगेका छन् । केही सडक नामोनिशानै मेटिने गरी भत्किएका छन् भने केही ठाउँमा पहिरो गएर अवरुद्ध छन् ।’ सडक भत्किएपछि स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएको उनले बताए । 


बेमौसमी वर्षाले सिगास वडा नम्बर ६ र ७ बाट बझाङको देउरा बजार जाने मुख्य सडक बगाएपछि समस्या भएको स्थानीय ईश्वर साउदले बताए । उनले भने, ‘हाम्रो मुख्य बजार भनेकै देउरा बजार हो । दैनिक उपभोग्य वस्तु, नुनतेल, खाद्यान्नदेखि निर्माण सामग्रीलगायत सामान देउराबाटै ल्याउने गरेका थियौँ । देउरा जाने सडक ठाउँ–ठाउँमा भत्किएपछि जोखिम मोलेर यात्रा गरिरहेका छौँ ।’ 

 

सडक भत्किएपछि स्थानीय सेती नदीको माथिपट्टिको भीरबाट यात्रा गर्न बाध्य छन् । सडक बिग्रिएसँगै बुढापाका, सुत्केरी महिला र बिरामी ओहोरदोहोर गर्न सक्ने स्थिति छैन । 


विभिन्न स्थानका सडक भत्किएपछि सिगास गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ का बासिन्दालाई बजारसम्म पुग्न मुस्किल भएको छ । ढुंगाडमा सेती नदीमाथिको पुल नै बाढीले बगाएपछि दैनिक उपभोग्य वस्तु ल्याउन दिनभर हिँड्नुपर्ने बाध्यता छ । विगतमा डोटीको आदर्श पालिकाका बजारबाट सामान ल्याउने गरेकामा अहिले डडेल्धुराबाट खच्चरमा सामान ल्याउनुपर्ने बाध्यता छ । खच्चरबाट सामान मगाउँदा १ केजीको १० रुपैयाँ तिर्नु परिरहेको स्थानीय राजेश चन्दले बताए ।


सडक निर्माण गर्न कसैको ध्यान नगएको सिगास वडा नम्बर ७ का भीम बोहराको गुनासो छ । उनले भने, बजारसम्म पुग्ने सबै सडक भत्किएकाले कहाँबाट सामान ल्याउने, के खाने भन्ने चिन्ता बढको छ । जसका घरमा युवा छन्, उनीहरू जोखिम मोलेरै सामान ल्याउँछन् । अशक्तलाई निकै समस्या छ ।’ 


सिगासका विभिन्न वडामा वर्षाका कारण पुगेको क्षतिबारे अवलोकन गर्न त्यहाँ पुगेका बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले सिगासबासीको समस्या समाधान गर्ने आश्वासन दिए ।


उनले सिगासमा भएको सबै क्षति अध्ययनपछि संसद्मा कुरा उठाउनुका साथै पुनर्निर्माणका लागि सकारका सबै निकायसँग पहल गर्ने बताए । सांसद भण्डारीको टोली गत १ सातादेखि सिगास भ्रमणमा छ । निरन्तरको वर्षाका कारण सिगासबासीको ७ सय रोपनी धान खेत बगरमा परिणत भएको जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्यांक छ ।