close

धौलीगाड बृहत् खानेपानी आयोजना निर्माण निश्चित

धौलीगाड बृहत् खानेपानी आयोजना निर्माण निश्चित

Trulli
ADVERTISEMENT

जुम्ला–कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो गौरवको आयोजना धौलीगाड खानेपानी आयोजना निर्माण हुने निश्चित भएको छ ।

 

आयोजना निर्माणका लागि शनिबार शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । आयोजना शिलान्यासका लागि खानेपानीमन्त्री, मन्त्रालयका सचिव र डिजी जुम्ला आउने तयारी भइरहेको संघीय खानेपानी आयोजना प्रमुख महेश न्यौपानेले बताए ।  उनले भने, ‘लामो प्रयास र सबैको सहयोगले आयोजना निर्माण हुने निश्चित भएको हो ।’ 

 

आयोजना निर्माण लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ छ । आयोजनाबाट चन्दननाथ नगरपालिका वडा नम्बर १–१० वडा, गुठीचौर गाउँपालिकाका ३–५ वडा, तातोपानी गाउँपालिका १–६ वडा गरी ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए । 

 

जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइन स्टिमेटमा उल्लेख गरिएको छ । प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ भने ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुनेछ ।

 

संस्थागत ३ लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुने आयोजना प्रमुख न्यौपानेले बताए । उनले भने, ‘प्रतिदिन जम्मा ४७ हजार ३२० लिटर पानी खपत हुनेछ । मुख्य पाइप लाइनको अधिकतम क्षमता प्रतिसेकेन्ड ६६ लिटर रहनेछ ।’ 

 

आरसीसी पानी भण्डारण गर्ने ट्यांकी ३ सय घनमिटरको १ वटा, १५० घन मिटरको १ वटा, १२५ घनमिटरको २ वटा, १ सय घनमिटरको २ वटा, ७५ घनमिटरको ३ वटा र ५० घनमिटरको ४ वटा बन्ने डिजाइन स्टिमेटमा उल्लेख छ । यस्तै, पानी वितरण गर्ने ट्यांकी ९ वटा, क्लोरिनेसन प्रणाली १३ वटा, प्रेसर घटाउने ट्यांकी १७ वटा बन्नेछन् । 

 

भल्व राख्ने संरचना (पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइपभित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने) ६२ वटा बन्नेछन् । हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा निर्माण गरिनेछ ।

 

जालीको घरबार १३ वटा गेटसहित ८ सय मिटर बन्नेछ । खोलाको क्रसिङ ४ वटा, नदीको क्रसिङ ७ वटा, स्टिल पाइपका लागि प्रेसर थाम्ने ब्लक १६५ वटा, टेका राख्ने ब्लक ६० वटा, गार्ड बस्ने घर, शौचालयसहित १ वटा र पानी परीक्षण प्रयोगशाला १ वटा बन्ने डिजाइन स्टिमेटमा उल्लेख छ । 

 

यस्तै, प्रेसर घटाउने संरचना ११ वटा, आगलागी निभाउन निकाल्ने ठाउँ १५ वटा, निजी धारा ८ हजार २९२ वटा, संस्थागत धारा ३१६ वटा, बाटोमा धारा जोड्ने संरचना १५० वटा, खोल्सा क्रसिङ २० वटा, सार्वजनिक शौचालय ५ वटा बन्नेछन् । मुख्य पाइप लाइनको लम्बाइ ६९ दशमलव २८ किलोमिटर रहनेछ भने वितरण शाखा पाइप लाइनको लम्बाइ २ सय दशमलव ४ किलोमिटर रहनेछ । पानी महसुल प्रतिघरधुरी न्यूनतम मासिक ५५ रुपैयाँ लाग्नेछ ।