close

धौलीगाड बृहत् खानेपानी आयोजना शिलान्यास

धौलीगाड बृहत् खानेपानी आयोजना शिलान्यास

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लामा सबैभन्दा ठूलो गौरवको आयोजना धौलीगाड खानेपानी आयोजना शिलान्यास गरिएको छ । संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेपछि आयोजना निर्माण हुने निश्चित भएको हो ।

 

आयोजना निर्माण लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ रहेको संघीय खानेपानी आयोजना प्रमुख महेश न्यौपानेले बताए । आयोजनाबाट चन्दननाथ नगरपालिका वडा नम्बर १–१० वडा, गुठीचौर गाउँपालिकाका ३–५ वडा, तातोपानी गाउँपालिका १–६ वडा गरी ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए । 

 

जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइन स्टिमेटमा उल्लेख गरिएको छ । प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ भने ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुनेछ ।

 

संस्थागत ३ लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुने आयोजना प्रमुख न्यौपानेले बताए । उनले भने, ‘प्रतिदिन जम्मा ४७ हजार ३२० लिटर पानी खपत हुनेछ । मुख्य पाइप लाइनको अधिकतम क्षमता प्रतिसेकेन्ड ६६ लिटर रहनेछ ।’ 

 

आरसीसी पानी भण्डारण गर्ने ट्यांकी ३ सय घनमिटरको १ वटा, १५० घन मिटरको १ वटा, १२५ घनमिटरको २ वटा, १ सय घनमिटरको २ वटा, ७५ घनमिटरको ३ वटा र ५० घनमिटरको ४ वटा बन्ने डिजाइन स्टिमेटमा उल्लेख छ । यस्तै, पानी वितरण गर्ने ट्यांकी ९ वटा, क्लोरिनेसन प्रणाली १३ वटा, प्रेसर घटाउने ट्यांकी १७ वटा बन्नेछन् । 

 

भल्व राख्ने संरचना (पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइपभित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने) ६२ वटा बन्नेछन् । हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा निर्माण गरिनेछ ।

 

जालीको घरबार १३ वटा गेटसहित ८ सय मिटर बन्नेछ । खोलाको क्रसिङ ४ वटा, नदीको क्रसिङ ७ वटा, स्टिल पाइपका लागि प्रेसर थाम्ने ब्लक १६५ वटा, टेका राख्ने ब्लक ६० वटा, गार्ड बस्ने घर, शौचालयसहित १ वटा र पानी परीक्षण प्रयोगशाला १ वटा बन्ने डिजाइन स्टिमेटमा उल्लेख छ । 

 

यस्तै, प्रेसर घटाउने संरचना ११ वटा, आगलागी निभाउन निकाल्ने ठाउँ १५ वटा, निजी धारा ८ हजार २९२ वटा, संस्थागत धारा ३१६ वटा, बाटोमा धारा जोड्ने संरचना १५० वटा, खोल्सा क्रसिङ २० वटा, सार्वजनिक शौचालय ५ वटा बन्नेछन् ।

 

मुख्य पाइप लाइनको लम्बाइ ६९ दशमलव २८ किलोमिटर रहनेछ भने वितरण शाखा पाइप लाइनको लम्बाइ २ सय दशमलव ४ किलोमिटर रहनेछ ।पानी महसुल प्रतिघरधुरी न्यूनतम मासिक ५५ रुपैयाँ लाग्नेछ ।