close

सहयोगको थैली बोकेर बिरामी भेट्न पुगे गाउँपालिका अध्यक्ष 

सहयोगको थैली बोकेर बिरामी भेट्न पुगे गाउँपालिका अध्यक्ष 

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक - १७ वर्षे कलिलो वयमै दुवै मृगौला काम नलाग्ने भएपछि डायलासिस गराइरहेका बिरामीको उपचारमा सहयोग गर्न पैसाको थैली बोकेर जुगल गाउँपालिकाका अध्यक्ष डेरामै पुगेका छन् । 


अस्पतालमा नियमित डायलासिस गराइरहेका जुगल गाउँपालिका–५ का प्रवीण आले मगरलाई आर्थिक अभावमा उपचार गर्न समस्या भएपछि गाउँपालिका र नेकपा जुगल गाउँ कमिटीले संकलन गरेको रकम लिएर अध्यक्ष होमनारायण श्रेष्ठ मगरको डेरामा गएका हुन् ।


गाउँपालिका महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका अध्यक्ष श्रेष्ठले मृगौलापीडित किशोरलाई उनी बसिरहेको डेरामै पुगेर सहयोग रकम प्रदान गरेका थिए । 


उनको उपचारका लागि जुगल गाउँपालिकाले २५ हजार, अध्यक्ष श्रेष्ठले व्यक्तिगत रुपमा १५ हजारसहित विभिन्न सहयोगीबाट संकलित ४ लाख ४३ हजार ६ सय ३० रुपैयाँ बिरामी प्रवीणलाई हस्तान्तरण गरिएको थियो ।


‘सबैको सहयोगबाट पहिलो चरणमा संकलित रकम पीडित बस्ने घरमैै लगेर प्रदान गरिएको र पुनः संकलन गरिनेछ’,  गाउँपालिका अध्यक्ष श्रेष्ठले भने ।


जनप्रतिनिधि घरमै आएर सहयोग रकम दिएपछि आफूलाई अझ आत्मबल बढेको मृगौलापीडित प्रवीणले बताए । ‘सरकार भनेको यस्तै दुःखको बेला चाहिने रहेछ, उहाँहरू आएर सहयोग गर्नुभएको छ । आत्मबल झनै बढ्यो’, प्रवीण खुसी सुनिए ।