close

स्वतन्त्र वडाध्यक्षको फराकिलो छाती, तलब थापेर सिटामोल र कलम-कापी

स्वतन्त्र वडाध्यक्षको फराकिलो छाती, तलब थापेर सिटामोल र कलम-कापी

Trulli
ADVERTISEMENT

रोल्पा- स्थानीय सरकारहरू अनियमिततामा मुछिएको भन्दै आलोचना खेपिरहेका बेला रोल्पाका एक वडा अध्यक्ष भने आफूले पाउने सबै सरकारी सुविधा वडाभित्रका गरिब विपन्नलाई वितरण गरेर उदाहरणीय बनेका छन् ।


सुनिलस्मृति गाउँपालिका  वडा- २ का वडाध्यक्ष नेत्र गिरीले निर्वाचित भएयता आफूले प्राप्त गरेका सबै तलब भत्ता गरिब विपन्नको शिक्षा स्वास्थ्यमा खर्चिंदै आएका हुन् ।


आफ्नो कार्यकालको सबै सेवा सुविधा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवाका लागि खर्चिने प्रण उनको छ । ‘आर्थिक  अभावमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत  सेवाबाट वञ्चित भएका परिवारलाई यस्तो सेवा उपलब्ध गराउने योजना छ’, वडा अध्यक्ष गिरीले भने । रकम परिचालनका लागि समिति  गठन गरी अक्षय कोषमार्फत खर्चिने तयारी भइरहेको अध्यक्ष  गिरीले बताए ।

 

‘मेरो कार्यकालपछि पनि कोषको दिगोपना र निरन्तरताको अपेक्षासहित व्यवस्थित  परिचालन संयन्त्र तयार गर्ने उद्देश्यले काम अघि बढिरहेको छ’, उनले भने । निर्वाचनताका मतदाता समक्ष गरेको प्रतिबद्धताअनुरूप आफ्नाे पारिश्रमिक गरिब, विपन्न समुदायको हितमा खर्च गर्दै आएको उनको तर्क छ । 


‘जनताको सेवा गर्न राजनीतिमा लागेर वडा अध्यक्ष निर्वाचित भएकाले सुविधा लिनु उचित लागेन’, वडा अध्यक्ष गिरीले भने, ‘वडाको काम गरेर बचेको समयमा गर्ने अन्य पेसा व्यवसायबाट आएको आम्दानीबाट दैनिक गुजारा चलाउँदै आएको छु ।’ 


विपन्नताका कारण विद्यालय शिक्षाबाट वञ्चित रहेका र सिटामोल किन्न नसक्ने अवस्थाका स्थानीयलाई आफ्नाे पारिश्रमिक दिँदै आएको गिरीले बताए । ‘कोष परिचालन कार्यविधिमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गरिने रकमको हिसाबकिताब आउँछ’, गिरीले भने । 


विपन्न तथा गरिबको दुःखमा साथ दिने वडा अध्यक्ष गिरीको मनकारी स्वभावले गरिब विपन्नलाई राहत पुगेको स्थानीय पुनम सिंह बताउँछिन् । ‘विपन्न र गरिबका लागि सहयोग लिएर अध्यक्ष घरघर पुग्ने गर्छन्’, सिंहले भनिन्, ‘यसपछिका अध्यक्षले पनि यसैगरी सहयोग गरे गरिब / विपन्नको मुहार हँसिलो हुनेछ ।’ 


शिक्षा र स्वास्थ्यमा आफ्नो पारिश्रमिक खर्चिने वडा अध्यक्ष गिरीको काम प्रशंसनीय भएको त्रिपुरेश्वरी मावि खुंग्रीका प्रधानाध्यापक समीक्षा बुढाथोकीले बताइन् । ‘आर्थिक अभावले शिक्षाबाट वञ्चित बालबालिकामा यसले प्रत्यक्ष प्रभाव पर्नेछ’, बुढाथोकीले भनिन् ।


वडा अध्यक्ष गिरी स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै स्वतन्त्र रूपमा निर्वाचित भएका हुन् ।