close

महानगर प्रमुख शाक्यले १०१ को सट्टा ११ पनि काम गरेनन्

महानगर प्रमुख शाक्यले १०१ को सट्टा ११ पनि काम गरेनन्

Trulli
ADVERTISEMENT

२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको नगरप्रमुखमा ४५ हजार २ सय ६९ मत पाएर दोस्रो भएका थिए, कांग्रेस नेता राजुराज जोशी । महानगरको नेतृत्व सम्हालेका विद्यासुन्दर शाक्यले कार्यकालमा दैनिक प्रशासन चलाउनेबाहेक केही काम नगरेको टिप्पणी गर्छन्, जोशी । नगरप्रमुख शाक्यलाई कार्यकालको सय अंक राखेर दिनुपर्दा कति दिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पाँच वर्षे कार्यकालमा पास भनौँ भने केही काम गर्नुभएको छैन । फेल भनाँै भने दैनिकी कामकाज चलेको छ । अंक दिँदा उहाँलाई जनतालाई महशुस गर्ने काम (शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर) केहीमा दिने ठाउँ छैन ।’ ५ वर्षमा शाक्यले गरेका कामको टिप्पणी उनकै निकटतम प्रतिद्वन्द्वी जोशीकै शब्दमा :

 


काठमाडौं– विद्यासुन्दर शाक्य नगरप्रमुखमा निर्वाचित हुनुअघि जनतासँग थुप्रै प्रतिबद्धता गर्नुभएको थियो । १०० दिनमा १०१ काम गर्ने वाचा गर्नुभएको थियो । ती काम उहाँको घोषणापत्रमै उल्लेख थिए । अहिले उहाँको कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । वाचा गरेका १०१ मध्ये ११ काम पनि भएनन् । 

 

५ वर्षमा उहाँले जनप्रतिनिधि नहुँदा कर्मचारी प्रशासनले जसरी चलाएका थिए, सोहीअनुसार महानगरको दैनिकी चलाउनुभयो । त्योभन्दा बढी हामीले अनुभूति गर्न सकेका छैनौँ । उहाँको महत्त्वपूर्ण योजना थियो, मोनो रेल । स्वच्छ वातावरण बनाउने योजना थियो । महानगरलाई साइकल सिटीमा बदल्ने घोषणा थिए । स्मार्ट सिटीको कुरा उठाउनुभएको थियो । 


तर, त्यसको ठीक विपरीत महानगरको ५ वर्षे कार्यकाल हेर्दा नगरप्रमुखले चुनाव जित्न मात्रै नारा दिएजस्तो देखियो । नगरप्रमुख शाक्यले आफ्नो भोट आउने ठाउँमा मात्रै पैसा खर्चिरहेको देखिन्छ । काठमाडौंका स्थानीयको शिक्षा, स्वास्थ्य, रोजगार, आर्थिक गतिविधिमा केही पनि काम भएका छैनन् । उहाँको ध्यान भनेकै जनताभन्दा पनि कहाँ पैसा दिँदा मेरो भोट बढ्छ भन्नेमा मात्रै छ ।

 

पूर्वाधारमा सडक निर्माण/मर्मत जसरी गर्नुपर्ने थियो, त्यो भएन । चावहिलको सडकमा एक जनाले ज्यानै गुमाउनुप¥यो । जनप्रतिनिधि भएपछि जनताका ससाना मुद्दा ख्याल गर्नुपर्ने हो । तर, कुनै पनि क्षेत्रमा ख्याल गरिएको देखिएन । 

 

यही बीचमा कोभिड महामारीमा आयो । त्यसमा महानगरले जुन किसिमको भूमिका खेल्नुपर्ने थियो, खेल्न सकेन । देशकै ठूलो महानगर भएर पनि आइसोलेसन, बेडलगायत संरचना तयार गरिएनन् । यसले महानगरबासीले आइसोलेसनमा बस्ने ठाउँसमेत पाएनन् । तर, नगरप्रमुख आफैं सोल्टी गएर बस्नुभयो ।


महानगरमा रहेका देशभरका गरिब मजदुरलाई जुन किसिमको राहत दिन सकिन्थ्यो, दिइएन । बन्दाबन्दीको समय खाना नभएपछि मजदुर पैदल हिँडेरै घर फर्किन बाध्य भए । महानगरमा बजेट थिएन भनौँ बैंकमा पैसा राखेर बसेको छ । 


तर, महानगरबासीले सामान्य सुविधा पनि अनुभूति गर्न सकेका छैनन् । बाहिरबाट आउने मानिसका लागि काठमाडौं महानगर नेपालकै ‘ड्रिम सिटी’ हो । यहाँ कामको खोजीमा, अध्ययनका लागि वा अन्य काम विशेषले आउने मानिस अधिक छन् । उनीहरूका लागि केही पनि योजना भएन् । महानगरसँग आप्mनै नागरिकको राम्रो तथ्यांकसमेत छैन । 

 

निर्वाचित भएको दुई वर्षमा मनोरेल ल्याउने भाषण गर्नुभएको थियो, त्यो कहाँ गयो ? अन्तिम वर्षमा आइपुग्दा उहाँहरूले नीति तथा कार्यक्रमबाट हटाइसक्नु भएछ । उहाँहरूबाट महानगरको सूचना पाउन पनि मुस्किल छ । बजेट पुस्तिकासमेत सजिलै पाइँदैन । 

 

हामीले जन्मेदेखि यही कर बुझाएका छौँ । तर, महानगरले सुलभ स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सकेको छैन । महानगरमा सहरी क्लिनिक खोलिएको छ । त्यसलाई व्यवस्थित गर्न सकेको छैन । शिक्षामा गुणस्तर सुधार्न सकेको छैन । सोही कारण जनता महँगा निजी विद्यालयमा छोराछोरी पढाउन बाध्य छन् । महानगरअन्तर्गत धेरै शिक्षक छन्, अहिलेकै अवस्थामा पनि उनीहरूलाई व्यवस्थापन गरेर राम्रो शिक्षा दिन सकिन्थ्यो । 

 

नागरिक निजी अस्पतालमा लाखौँ खर्चिएर उपचार गर्न बाध्य छन् । महानगरभित्रका पुराना स्थानीय कमजोर आर्थिक अवस्थाका छन् । उनीहरूका लागि केही सेवा–सुविधा छैन । महानगरमा सडक विस्तारका नाममा नागरिको सम्पत्तिको मुआब्जा नदिईकन घर भत्काइएको छ । मानिस घरबारविहीन अवस्थामा पुगेका छन् । यस्ता कानुनविपरीतका काममा पनि महानगर नगरबासीको पक्षमा उभिन सकेन ।

 

सम्पदा पुनर्निर्माणमा पनि महानगरको खासै प्रगाति देखिएन । नगरप्रमुख शाक्यले विभिन्न अवस्थामा सम्पदामा विवादित काम गर्नुभयो । उहाँले कसको सल्लाहमा यो काम गर्नुभयो थाहा भएन । उहाँले रानीपोखरीदेखि कमलपोखरीसम्म कंक्रिट लगाउने प्रयास गर्नुभएको थियो । त्यसको विरोधमा उपप्रमुख हरिप्रभा खड्गीसहित हामी सबै लाग्यौँ ।


सम्पदामा महानगरले सन्तुष्ट हुने गरी काम गर्न सकेको छैन । सरकारसँग पैसा लिएर र आफैंले बजेट हालेर महानगरले जुन किसिमको काम गर्नुपर्ने थियो, त्यो गर्न सकेन । प्राधिकरणले धेरै सम्पदा बनाइदिएको छ । 

 

समग्रमा नागरिकले महानगरबाट स्थानीय सरकारको अनुभूति गर्न पाएका छैनन् । महानगर दैनिक काममा मात्रै सीमित भयो । संविधानले दिएको अधिकार प्रयोग गर्ने विषयमा एकदमै कमजोर रह्यो । संघ र प्रदेशसँग लडेर लिनुपर्ने अधिकार लिन सकेन ।

 

संघीयता कार्यान्वयनका सन्दर्भमा महानगरले सबैको उदाहरणीय काम गर्नुपर्ने थियो । महानगरको नेतृत्वले आफ्नै पार्टीको सरकार भएकाले संघसँग आफ्ना अधिकारका लागि लड्न नसकेकै हो । स्थानीय तहमा मालपोतलगायत धेरै अधिकार छन् । तर, उहाँले यी विषय व्यवस्थापन गर्न सक्नुभएन । 

 

नगरप्रमुख शाक्यसँग महानगरलाई समृद्ध गर्ने भिजन देखिएन । निर्वाचित भएपछि यो–यो काम गर्छ भनेर योजना तयार हुनुपथ्र्यो, त्यस्तो केही देखिएन । सबै चुनावी नारामै सीमित भए, उहाँका काम ।

 

स्थानीय सरकारसँग भएको अधिकार प्रयोग गरेर जनतालाई सुविधा दिन सक्नुभएन । शाक्यभन्दा अलि भिजन भएको नेतृत्व र अधिकारका लागि लड्न सक्ने नेत्तृत्व भएको भए महानगर अहिलेभन्दा भिन्न हुन्थ्यो । 

 

नगरप्रमुख शाक्यले काम गर्नुभएको भए राम्रो वातावरण बनिसक्थ्यो । तर, संविधानले दिएका एकल अधिकारको समेत अभ्यास गर्न सक्नुभएन । हिजोको नगरपञ्चायत चलाएजस्तो माथिको आदेशमा दैनिक कामकाज मात्रै चलाइरहनुभएको अनुभूति हुन्छ । स्थानीय तहका अधिकार सिडिओ, प्राधिकरण, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले प्रयोग गरिरहेका छन् ।

 

देशकै ठूलो महानगरले ती अधिकार लडेर लिएर अन्य पालिकाका लागि उदाहरणीय बन्नुपर्ने थियो । त्यो नेतृत्व महानगरले लिन सकेन । मानिसका आवश्यकतालाई पनि महानगरले बुभ्mन सकेको छैन । महानगरको मुख्य चुनौती रहेको खानेपानी र फोहोरबाट अझै छुटकारा दिन सकेको छैन । सातैपिच्छे फोहोरको समस्या बल्झिइरहन्छ । महानगरले अधिकार पाएपछि उसले फोहोर व्यवस्थापन गर्नसक्नुपर्ने थियो । तर, यो काम नगरप्रमुख शाक्यबाट सम्भव देखिएन । 

 

महानगरको आम्दानी धेरै छ । तर, आम्दानीअनुसारको सेवा–सुविधा जनताले पाएनन् । सडकको अवस्था र ट्राफिक जामको अवस्था विकलराल छ । यसका लागि महानगरले पहल गरेर सुधार गर्नुपर्ने थियो । यस्ता कुरामा नगरप्रमुख शाक्यको ध्यान गएन । 

 

नगरप्रमुखलाई सबै काम गर्ने अधिकार भए पनि उहाँले गर्न सक्नुभएन । खर्चमा पनि जथाभावी गरेको देखिन्छ । विभिन्न अस्पतालमा सामग्री खरिदमा पनि अनुदान दिइएको छ । यो नराम्रो होइन तर त्यही हिसाबले महानगरभित्रका सहरी क्लिनिक व्यवस्थापन गरेर सेवा दिन सकेको भए कति राम्रो हुन्थ्यो ।

 

मुख्य कुरा महानगरले ५ वर्षमा आफ्नो प्रशासनिक भवन बनाउन सकेको छैन । सबैभन्दा लज्जाको विषय हो । सोही कारण महानगरका कार्यालय १०/१२ ठाउँमा छरिएका छन् । सेवाग्राहीलाई एउटै सेवा लिन १०/१२ ठाउँ दौडिनुपर्छ । कार्यकालमा आफ्नै प्रशासकीय भवनसमेत बनाउन नसक्ने नेतृत्वबाट अन्य कुराको के आशा राख्ने ? मुख्यतः उहाँसँग महानगर हाँक्ने भिजन देखिएन ।