close

नगरसभाकाे निर्णय कर्मचारीले कार्यान्वयन नगरेपछि जनप्रतिनिधि आन्दाेलित

नगरसभाकाे निर्णय कर्मचारीले कार्यान्वयन नगरेपछि जनप्रतिनिधि आन्दाेलित

Trulli
ADVERTISEMENT

झापा - मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरू गत आइतबारदेखि आन्दोलित छन् । नगर सभाको निर्णय कर्मचारीले कार्यान्वयन नगरेको भन्दै जनप्रतिनिधिहरू नै आन्दोलनमा उत्रिएका हुन् ।

मेचीनगर वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले सोमबार अपराह्न नगरपालिकाको मुख्य प्रवेशद्वारमा नै पत्रकार सम्मेलन गरेर कर्मचारीहरूको कार्यशैलीको विरोध जनाएका थिए ।

वडा नम्बर-१३ का वडाध्यक्ष कृष्ण सिग्देलका अनुसार जनताको काम कर्मचारीले रोकेकाले आफूहरू विरोधमा उत्रनुपरेको पालिकाखबरलाई सुनाए । आफूहरूले उठाएको विषयहरूमा जवाफ मागेको भए पनि जवाफ नपाएकोले आउँदो आइतबारले थप सशक्त आन्दोलन गर्ने सिग्देलले पालिकाखबरलाई बताए । 

निर्वाचित जनप्रतिनिधिलाई नै असफल बनाउने गरी कर्मचारी लागेको उनको भनाइ छ । ‘यसबाट वडावासीहरू धेरै नै पीडित भएका छौं । व्यक्तिको नभएर विधिको शासनको माग गरेका छौँ,' उनले पालिकाखबरसँग भने, ‘लेखा शाखा र सामाजिक विकास शाखाबीचको द्वन्द्वको मारमा हामी जनप्रतिनिधि परेका छौं । एकातिर नगर सभाको निर्णय मान्दैनन् अर्कोतर्फ आफ्नो शाखालाई आफ्नो घरजस्तो आफूखुसी ताला लगाएर हिँड्छन् ।’

नगरपालिकासँग भुक्तानी हुने बाँकी तर काम भइसकेका योजनाहरू १७ करोडका छन् । संघीय प्रमाणीकरण अनुदान ५ करोड कटौती, मालपोत राजश्व ८ करोड र खोलाको ठेक्का नलाग्दा ४ करोड बराबरको घाटा छ । नगर सभाले अघिल्लो आर्थिक वर्षको घाटा साउन २० गतेदेखि भुक्तानी गर्ने निर्णय गरेको थियो । जनप्रतिनिधिका अनुसार कर्मचारीहरूको तलब भुक्तानी गर्ने तर विकासे योजनाको भुक्तानीमा कर्मचारीले देखाएका अटेरीपनले गर्दा आन्दोलन गर्न बाध्य बनाएका हुन् । 

औषधि खरिद गर्दा ढिलाइ गरेको, कृषक समूहका लागि सम्झौता गरेर कार्यसम्पादन गरिसकेको योजनाको भुक्तानी रोकेको, विपत्र व्यवस्थापनका लागि आवश्यक तार जाली खरिद नगरेको, कर्मचारीको बखेडा झिकेर नगरको विकास निर्माणको काम रोकेर जनप्रतिनिधिलाई सास्ती दिएको जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई आरोप लगाएका छन् ।

यस विषयमा बुझ्न लेखा अधिकृत र नगर प्रमुखसँग पालिकाखबरले सम्पर्क गर्न खाेज्दा दुवैको मोबाइल अफ थियो ।