close

स्थानीय तहमा ‘पद’को पनि श्रीमान् !

स्थानीय तहमा ‘पद’को पनि श्रीमान् !

Trulli
ADVERTISEMENT

सर्लाही-  स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्ष राष्ट्रिय मर्यादाक्रममा परेको सार्वजनिक पद हो । राष्ट्रिय मर्यादाक्रम २०८० ले नगरपालिकाका उपप्रमुखलाई १९ र गाउँपालिका उपाध्यक्षलाई २० नम्बर मर्यादामा राखेको छ । उनीहरू जिम्मेवार तथा जवाफदेही हुनुपर्छ । तर अधिकांश स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुख पद श्रीमानको भरमा चलिरहेका छन् ।

नेपालको संविधान २०७२ ले प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलालाई अनिवार्य उम्मेद्वार बनाउने व्यवस्था गरेको छ । तर महिला उपाध्यक्ष वा उपप्रमुख भएको स्थानीय तहको सो पद श्रीमानको नियन्त्रणमा छ । यो समस्या विशेषगरी मधेश प्रदेशका सबैजसो स्थानीय तहको हो ।

अझ बुझ्ने भाषामा भन्दा संविधानले महिलालाई अधिकार त दियो तर व्यवहारले अधिकार प्रयोग गर्नै पाएनन् । उपाध्यक्ष वा उपप्रमुख कमजोर छन् भनौं त हजारौंले भोट दिएर प्रमाणित गरेका छन् । कमजोर छैनन् भनौं त नाममात्रको उपाध्यक्ष अर्थात पालिकामा उपाध्यक्ष पदमा नाम महिलाको छ । स्थानीय तहको वेबसाइटमा नाम र फोटो पनि निर्वाचित महिलाकै छ । पालिका उपाध्यक्षको कुर्सीमा पनि निर्वाचित महिला नै बस्छिन् । तर नम्बरदेखि कामसम्म ती विजेता उपाध्यक्षको श्रीमानको ‘फूल कन्ट्रोल’मा छ ।

स्थानीय तहसँग टेलिफोन संवाद गर्ने क्रममा पालिकाखबरले सर्लाहीको मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तलादेवी साहलाई छनौट गर्‍यौँ । र नगरपालिकाको वेबसाइटको सहयोगमा उपप्रमुख साहसँग सम्पर्क गर्न खोज्यौँ । तर वेबसाइटमा राखेको नम्बरमा कल गर्दा उनका श्रीमान् चन्द्रकिशोर साहले फोन उठाए । 

कुराकानीको क्रममा परिचय दिएर उपप्रमुखसँग कुराकानी गर्न खोजेको यो नम्बर उपप्रमुखज्यूको होइन र भनी प्रश्न गर्दा उनले भने, ‘म्यामको त अर्कोे नम्बर छ । के कुरा गर्नुपर्ने हो ? भन्नुस् न के भन्नुपर्ने हो ।’ 

हामीले स्थानीय सरकार सञ्चालन ऐनले विकास निर्माण कार्यको अनुगमन गर्ने अधिकारी उपप्रमुख वा उपाध्यक्षलाई दिएको छ । उपप्रमुख ज्यूले निर्माण कार्यको अनुगमन कसरी गर्दै आउनु भएको छ भन्नेबारे जानकारी लिन खोजेको भन्न नपाउँदै उनले भने, ‘नगरप्रमुख आफैँले अनुगमन गर्दै आउनु भएको छ । ऐनमा उपप्रमुखले अनुगमन गर्ने व्यवस्था उपाध्यक्षको छ । तर मेयरले जवरजस्ती अनुगमन गर्दै आइरहेका छन् । यस विषयमा हाम्रै विवाद भएको थियो ।’

नगरप्रमुखलाई अनुगमन गराउनका लागि उपप्रमुख साहले अघिल्लो नगरसभाबाट पास गराएको उनले पालिकाखबरलाई बताए ।  हामीले उपप्रमुख कता हुनुहुन्छ ? भनी प्रश्न गर्दा उनले भने, ‘उपप्रमुख घरमा हुनुहुन्छ । सात महिनाको बच्चा छ । त्यसैले गाह्रो छ । म उहाँको श्रीमान् बोल्दै छु । 

वेबसाइटको नम्बरबारे जानकारी लिन खोज्दा उनले भने, ‘वेभसाइटको नम्बर मैले चलाउँछु । उहाँले अर्कै नम्बर चलाउनु हुन्छ ।’ उनले आफू उपप्रमुख साहको स्वकीय सचिव बन्न खोजे पनि नगरप्रमुखले नदिएको बताए ।  मधेशका महिलाहरु त्यति जानेको नहुने भएकाले विश्वासिलो र आफन्त स्वकीय सचिव हुनुपर्ने उनको बुझाइ छ । 

‘मधेशका उपप्रमुख महिलाहरू त्यति जानेको हुँदैन । त्यस्तो अवस्थामा जानेको स्वकीय सचिव अनिवार्य चाहियो’, उनले भने, ‘म्यामलाई धेरै कुरा थाहा छैन । त्यसैले स्वकीय सचिवको लागि माग गर्दै आउनु भएको छ । तर नगरप्रमुखले आलटाल गर्दै आउनु भएको छ ।’ स्वकीय सचिव जानेको बुझेको र आफन्त राख्नु पर्ने भएकाले उपप्रमुखले श्रीमानलाई  राख्न खोजेको उनले बताए । ‘म्याडमले त मेरो स्वामीलाई स्वकीय सचिव राख्ने भन्नु भएको छ । म्याडमले मलाई स्वकीय सचिव राख्नको लागि माग गर्नु भएको छ,’ उनले भने ।

सप्तरीको विष्णुपुर गाउँपालिकाकी कार्यवाहक अध्यक्ष रेणुकुमारी यादवलाई फोन गर्दा उनका श्रीमान् उपेन्द्रकुमार यादवले उठाए । हामीले कावा अध्यक्षसँग कुराकानी गर्न खोजेको र उहाँसँग सम्पर्क गराउन अनुरोध गर्दा उनले भने,‘उहाँलाई नेपाली भाषामा कुराकानी गर्न आउँदैन । के भन्नुपर्ने थाहा भएको जति म भन्छु ।’ त्यसपछि नगरपालिकाको तथ्यगत जानकारी र सूचना हो भन्दै समाचारका लागि उनी खुलेर बोल्न थाले । 

समाचारका लागि हामीलाई आवश्यक सूचना दिइसकेपछि उनले भने, ‘म पालिकामा काम गर्दिनँ । सामान्य कृषक हुँ । मलाई जानकारी भएको यति हो ।'