close

सिलिचोङका भूकम्प पीडितले पाए लालपुर्जा

सिलिचोङका भूकम्प पीडितले पाए लालपुर्जा

Trulli
ADVERTISEMENT

संखुवासभा– सिलिचोङ गाँउपालिका–३ साप्तेलका भूकम्प पीडित १३ परिवारले लालपुर्जा पाएका छन् । संखुवासभाको उनीहरुलाई जिल्ला आयोजना कार्यान्वयन इकाईले जग्गा खरिद गरेर लालपुर्जा वितरण गरेका हो ।


भूकप्पबाट जग्गा जमिन गुमाएका सिलिचोङ गाउँपालिका साप्तेलका १३ घरपरिवारलार्इ साढे १८ रोपनी निःशुल्क जग्गा प्रदान गरिएको हो । आत्मनिर्भर सेवा केन्द्र (दिगो समाधान)को प्राविधिक सहजीकरणमा जोखिमयुक्त बस्तीको रुपमा पहिचान भएको पहिरो र भुकम्प पीडितलाई सिलिचोङ गाँउपालिका–३ को मानेडाँडामा जग्गा व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

 

१३ परिवारलाई एकीकृत बस्तीको रुपमा व्यवस्थापन गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट जग्गा जमिन गुमाएकालाई निःशुल्क जग्गा उपलव्ध गराएपछि पीडितहरु खुसी भएका छन् ।


प्राधिकरणले ती परिवारका लागि सडक, पानी, विजुलीको पनि उपलव्ध गराउने भएको छ । पीडित परिवारलाई दिइएको जग्गा १० बर्षसम्म बिक्री वितरण नहुने गरी मालपोत कार्यालयमा रोक्का राखिने जनाइएको छ ।  


 
भूकम्प पीडित १३ परिवारलाई प्रदेश सांसद तुलसी प्रसाद न्यौपाने र जिल्ला पुनर्निमाण सहजीकरण समितिका संयोजक तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यले संयुक्त रुपमा गाउँपालिका अध्यक्ष राम कुलुङलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन् ।


लालपुर्जा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश सांसद न्यौपानेले केन्द्रीय तहमा आवश्यक पर्ने नीतिगत कुरामा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । जिल्ला समन्वय समितिका प्रमुख शाक्यले राष्ट्रिय पुनर्निमाण प्राधिकरणले  उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको जग्गामा एकीकृत बस्तीको अवधारणा अनुरुपको बस्ती विकास गर्नुपर्ने धारणा राखेका थिए ।

 

इकाईको अनुदानमा जिल्लामा पहिलो पटक १३ जना पहिरो पिडीतलाई २ लाखका दरले अनुदान रकम दिएर सुरक्षित स्थानमा घडेरी खरिद गर्न लगाएको जिल्ला आयोजना कार्यान्वयनइकाई संखुवासभाका प्रमुख नविनकुमार देवले बताए । सरकारले जोखिम युक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा खरिद गर्ने प्रतिघर  २ लाख अनुदान दिने गरेको छ ।