close

घोडाघोडीकाे वन्यजन्तु उद्धार केन्द्र निर्माण अलपत्र

घोडाघोडीकाे वन्यजन्तु उद्धार केन्द्र निर्माण अलपत्र

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकाको घोडाघोडी बृहत् पर्यटन विकास बोर्डले घाइते वन्यजन्तुको उद्धारका लागि घोडाघोडी संरक्षण क्षेत्र परिसरमा निर्माण थालेको उद्धार केन्द्र पालिकाले आवश्यक बजेट नछुट्याउँदा अलपत्र परेको छ । 


बोर्ड र नगरपालिकाले आवश्यक बजेट नदिएपछि केन्द्र निर्माणका लागि दातृ निकायबाट सहयोग लिएरै भए पनि उद्धार केन्द्र बनाउने योजना अगाडि बढाइएको छ ।

 

उद्धार केन्द्रका लागि गत वर्ष बजेट विनियोजन गरेको पालिकाले यस आर्थिक वर्षमा रकम नछुट्याएपछि योजना अलपत्र पर्ने आशंकामा दातृ निकायलाई अनुरोध गरिएको बोर्डका उपाध्यक्ष दयाराम चौधरी बताउँछन् । 


नगरपालिकाले गठन गरेको पर्यटन बोर्डमार्फत पालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा १६ लाख रुपैयाँ विनियोजन गर्दै बोर्डमार्फत जग्गा घेराबारा गरेको थियो । तर, यस आर्थिक वर्षमा नगरपालिकाले पर्यटन बोर्डलाई आवश्यक बजेट विनियोजन नगरेका कारण योजना अलपत्र परेको उपाध्यक्ष चौधरीले जानकारी दिए । 


‘उद्धार केन्द्रको गेट तथा अन्य संरचना निर्माण हुन नसक्दा योजना अलपत्र परेको छ’, उपाध्यक्ष चौधरीले भने, ‘उद्धार केन्द्र निर्माणका लागि चालू आर्थिक वर्षमा कुनै बजेटको व्यवस्था नगरिएपछि नगरपालिकासँग रकम मागिए पनि सुनुवाइ भएन ।’ 

 

घोडाघोडीका निमित्त कार्यकारी अधिकृत खगेन्द्रबहादुर सिंह नगरसभा तथा कार्यपालिकाले कुनै निर्णय नगरे पर्यटन बोर्डका योजना अलपत्र पर्न सक्ने बताउँछन् । 


यसअघिका आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा बढी रकम दिँदै आएको नगरपालिकाले चालू आर्थिक वर्षमा बृहत् घोडाघोडी पर्यटन विकास बोर्डका लागि २० लाख रुपैयाँ मात्र विनियोजन गरेपछि योजना अलपत्र परेको हो ।