close

चिसोले उपल्लो मुस्ताङको जनजीवन कष्टकर

चिसोले उपल्लो मुस्ताङको जनजीवन कष्टकर

Trulli
ADVERTISEMENT

मुस्ताङ- उपल्लो मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्रका गाउँमा अत्यधिक चिसो बढेको छ । उपल्लो मुस्ताङमा चिसो बढेसँगै घरका धारा, सेफ्टी ट्यांकी, कुलो र शाखा नदी बरफ बनेर जमेका छन् ।


हिउँ पर्न रोकिए पनि उपल्लो मुस्ताङको तापक्रम माइनस १० देखि १५ डिग्रीमा झरेकाले स्थानीयको जनजीवन कष्टकर बनेको छोसेरका कर्मा वाङ्गेल गुरुङले जानकारी दिए ।


उनका अनुसार विगतका वर्षमा उपल्लो मुस्ताङका अधिकांश स्थानीय यतिबेला जाडो छल्न तथा विभिन्न घुम्ती व्यापार व्यवसाय संचालन गर्न बेँसी झर्ने गरेकामा कोरोनाका कारण यस पटक गाउँमै बसेका छन् ।


‘गाउँमा खेतीपातीको कामकाज नहुने भएकाले उपल्लो मुस्ताङवासी बर्सेनि हिउँदमा बेँसीमै झर्थे । तर, कोरोनाका कारण सबै गाउँमा बसेका छन् । चिसोले उनीहरूको जनजीवन झनै कष्टकर बनाइदियो’, गुरुङले भने ।


कोरोना संक्रमणको डरले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर, दामोदरकुण्ड गाउँपालिकाका स्थानीय गाउँमै कठ्याङ्ग्रिएर बस्न बाध्य भएको लोमान्थाङका टसी आङ्ग्या गुरुङले बताए ।


‘गाउलेसँग जाडो थेग्ने कुनै सामग्री छैनन् । तीनै तहका सरकारले जाडोबाट छुटकारा मिल्ने राहत सामग्री उपलब्ध गराइदिनुपर्छ’,  टसी आङ्ग्या गुरुङ भन्छन् ।


यस वर्षको कोरोना कहरले उपल्लो मुस्ताङीको वैकल्पिक घुम्ती व्यापारको कमाइसमेत गुमेको गुरुङ सुनाउँछन् । बर्सेनि घुम्ती व्यापारको कमाइले जीवन निर्वाह गर्ने उपल्लो मुस्ताङवासीलाई प्राकृतिक प्रकोप, कोरोना कहर र भोकले गिजोल्ने सम्भावना रहेको गुरुङले जानकारी दिए ।


‘उपल्लो मुस्ताङमा हिउँद याममा जाडोको समस्या हुने नै भयो । त्यसमाथि हिमपातले गाउँ नै ढाकिन्छ’, उनले थपे, ‘मानिस तथा पशुचौपायालाई  उत्तिकै समस्या छ ।’


उपल्लो मुस्ताङमा चिसो बढेपछि लोमान्थाङ गाउँपालिकामा संचालनमा रहेका केही विद्यालयको वैकल्पिक सिकाइसमेत बन्द भएको लोमान्थाङका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदीले बताए ।


‘गाउँपालिकाको अनुमतिमा केही विद्यालय बन्द भए अरू पनि चिसोका कारण बन्द हुने क्रममा छन्’, सुवेदीले भने ।


यस्तै, लोघेकर दामोदरकुण्ड पालिकाका विद्यालय पनि मंसिर अन्तिम साताबाट बन्द हुने भएका छन् । लोमान्थाङका चार गुम्बा र दुई निजी विद्यालय घुम्ती कक्षाका लागि पोखरा झरिसकेका छन् ।


लोमान्थाङको एक मात्र दिव्यदीप माविले ९ र १० कक्षाका विद्यार्थीलाई घुम्ती कक्षाका लागि पोखरा झारिसकेको प्रधानाध्यापक रामुप्रसाद श्रेष्ठले जानकारी दिए । तर, आधारभूत तहका विद्यार्थीलाई भने हिउँदे जाडो बिदा दिइसकेको उनले बताए ।


लोमान्थाङ र लोघेकर दामोदरकुण्ड पालिकामा १६ वटा सामुदायिक विद्यालय छन् ।