close

मुस्ताङको लोघेकर सुर्खाङमा थ्रीजी सेवा सुरु 

मुस्ताङको लोघेकर सुर्खाङमा थ्रीजी सेवा सुरु 

Trulli
ADVERTISEMENT

मुस्ताङ - उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा- ४ स्थित सुर्खाङमा शनिबारदेखि थ्रीजी सेवा सञ्चालनमा आएको छ ।

 

समुद्री सतहदेखि ३ हजार ५ सय मिटर उचाइको लोघेकर वडा- ४ को सुर्खाङसहित यारा, घारा, ढीलगायतका गाउँ लाभान्वित हुने गरी थ्रीजी सेवा सुरु गरिएको नेपाल टेलिकम जोमसोम शाखा प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।

 

यसअघि २०७४ मा टेलिकमले लोमान्थाङमा थ्रीजी सेवा सञ्चालनमा ल्याएको थियो । लोघेकरका विकट गाउँ यारा, घारा, ढी र सुर्खाङमा टुजी सेवा मात्र थियो ।

 

थ्रीजी सेवा सञ्चालनपछि यी क्षेत्रका स्थानीयले तीव्र गतिको इन्टनेट उपयोग गर्न पाएको लोघेकर वडा- ४ का वडाध्यक्ष छिरिङ घोम्बो गुरुङले जानकारी दिए ।

 

साविकको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय मिटर उचाइमा अवस्थित घिउडाँडाको रिपिटर स्टेसनबाट माइक्रोवेब लिंकमार्फत सुर्खाङको बिटीएस टावरसँग सम्पर्क गराएर थ्रीजी एन्टिना र उपकरण जडान गरेपछि सेवा सञ्चालनमा आएको हो ।

 

‘थ्रीजी इन्टरनेट जडानका लागि टेलिकम बाग्लुङ र जोमसोमका प्राविधिक पुगेर सेवा सुरु गरेका हुन्’, लोघेकर वडा- १ का वडाध्यक्ष टसिढिन्डुक गुरुङले भने ।

 

टेलिकमले निकट भविष्यमै लोघेकरको वडा- १ चराङमा फोरजी सेवा सञ्चालनमा ल्याइने जनाएको छ ।

 

लोमान्थाङ र हाल लोघेकरको सुर्खाङमा थ्रीजी सेवा सञ्चालनमा आएपछि मुस्ताङको उत्तरी क्षेत्रका स्थानीयलाई भिडियो कल, इमेल/इन्टरनेटलगायत उपयोग गर्न सहज हुनेछ ।