close

मुस्ताङमा सांसद विकासको कोषको बजेट स्थानीय तहलाई बाँडफाँट

मुस्ताङमा सांसद विकासको कोषको बजेट स्थानीय तहलाई बाँडफाँट

Trulli
ADVERTISEMENT

मुस्ताङ - मुस्ताङबाट निर्वाचित संघ तथा प्रदेश सभासद्हरूले सांसद विकास कोषको तजबिज रकम जिल्लाका ५ वटै स्थानीय तहमा बाँडफाँट गरेका छन् । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम तथा प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम ५ वटै स्थानीय तहको सहमतिमा बाँडफाँट गरिएको हो ।

 

संघ सरकारअन्तर्गत स्थानीय पूर्वाधार साझेदारी कार्यविधि नियमावली, २०७७ बमोजिम नेपाल सरकारले सांसदको तजबिजमा खर्च गर्न पाउने गरी ४ करोड बजेट विनियोजन गरेको छ भने प्रदेशतर्फ २ करोड विनियोजन भएको हो ।

 

संघीय र २ प्रदेश निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङलाई संघ र प्रदेश गरी कुल १० करोड प्राप्त भएको जिल्ला समन्वय समिति मुस्ताङले जनाएको छ । मुस्ताङमा संघ र प्रदेशको सांसद विकास कोषको बजेट कतिपय योजना साझेदारी रूपमा सम्पन्न गर्ने गरी बाँडफाँट गरिएको छ । 

 

चालू आर्थिक वर्षमा गत वर्ष सम्पन्न हुन नसकेका र अधुरा योजनालाई बजेटमा समेटिएको संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । उनका अनुसार गत वर्ष कोरोना कहर तथा स्थानीय तहको ढिलासुस्तीका कारण ठूलो बजेट फ्रिज हुन पुगेको थियो ।

 

‘आर्थिक वर्ष २०७६/७७ मा सरकारले ६ करोड बजेट खर्चिन पाउने गरी विनियोजन गरे पनि चालू वर्ष २ करोड घटाएर ४ करोड मात्र विनियोजन भएको हो’, संघीय सांसद तुलाचनले भने ।

 

चालू वर्ष थासाङलाई ९१ लाख, घरपझोङलाई ८० लाख, वारागुङ मुक्तिक्षेत्रलाई ८४ लाख, लोघेकर दामोदरकुण्डलाई ७२ लाख र लोमान्थाङ गाउँपालिकालाई ६८ लाख बजेट विनियोजन गरिएको हो ।

 

यस्तै, जिल्ला समन्वय समितिको प्रशासनिक खर्चका लागि ५ लाख छुट्याइएको सांसद तुलाचनले बताए । यो वर्ष संघतर्फको स्थानीय पूर्वाधार साझेदारीको बजेट सबैभन्दा बढी थासाङले पाएको छ भने सबैभन्दा कम बजेट लोमान्थाङलाई परेको छ ।

 

गत वर्ष संघतर्फ ५० करोडको ४ वटा योजनासहित २० वटा योजना समावेश भएकामा संघीय सांसदको गुनासोका कारण न्यूनतम ५ लाखदेखि माथि आवश्यकताका आधारमा खर्चिन पाउने अधिकार सांसदलाई दिइएको हो ।

 

यो वर्ष ५ देखि २० लाखसम्मका ४० योजना समावेश भएको सांसद तुलाचन बताउँछन् । गत वर्ष स्थानीय तहको सुस्तताको कारण बजेट फ्रिज भएकाले योजनामा रकम अपुग भए स्थानीय तहले पनि बजेट साझेदारी गर्नुपर्ने सहमति भएको सांसद तुलाचनले बताए ।

 

‘गत वर्ष साझेदारीबाट निर्माण भएका अधिकांश योजना उपभोक्ता समितिले सम्पन्न गरेका थिए । स्थानीय तहबाट ठेक्का टेन्डरमार्फत सम्पन्न गर्नुपर्ने योजना स्थानीय तहहरूको उदासीनताले सम्पन्न हुन सकेनन् । विकासका लागि आएको बजेट खर्च हुन नसक्नु दुर्भाग्य हो,’ सांसद तुलाचनले भने ।

 

उनका अनुसार गत वर्ष लोमान्थाङको छोसेरमा रहेको निफुक गुम्बा, थासाङको लेतेमा समाजघर निर्माण र घरपझोङको एयरपोर्ट स्वागत गेटमा विनियोजन भएको लाखौँ रुपैयाँको बजेट फ्रिज भएको थियो ।

 

यस्तै, प्रदेशतर्फको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सांसद विकास कोषको २-२ करोड बजेट बाँडफाँट भएको प्रदेश सांसद इन्द्रधारा विष्टले जानकारी दिए । 

 

मुस्ताङमा संघ तथा प्रदेश सांसद विकास कोषको बजेट सडक निर्माण, कृषि तथा पशुपालन, ऐतिहासिक सम्पदा संरक्षण तथा पुनर्निर्माण, सिँचाइ, खानेपानी, खेलमैदानलगायतका योजनामा छुट्याइएको छ ।