close

राजीनामा प्रकरणमा मुछिएकी गाउँपालिका उपाध्यक्षका सबै सुविधा खोसियो

राजीनामा प्रकरणमा मुछिएकी गाउँपालिका उपाध्यक्षका सबै सुविधा खोसियो

Trulli
ADVERTISEMENT

मकवानपुर–उपाध्यक्ष मनिला विष्टको राजीनामाले मनहरी गाउँपालिका तनावग्रस्त बनेको छ । उपाध्यक्ष विष्टको कार्यकक्षमा कागजपत्र फालिनुका साथै उनको नेमप्लेट पनि हटाइएको छ ।


उपाध्यक्ष विष्टको राजीनामा गत शुक्रबार गाउँपालिकाले स्वीकृत गरेको थियो । यद्यपि विष्टले भने राजीनामा नदिएको दाबी गर्दै आइरहेकी छन् । उनले राजीनामा नदिएको दाबी गरेपनि राजीनामा पत्र भने गाउँपालिकामा दर्ता भएको छ ।

राजीनामा पत्र उपाध्यक्ष विष्टले किर्ते भएको बताउँदै आएकी छन् । मंगलबार गाउँपालिका कार्यालय पुगेकी उपाध्यक्ष विष्टले आफ्नो कार्यकक्ष लथालिङ्ग देखेपछि आपत्ति जनाएकी छन् ।


‘मेरो राजीनामाको विषयमा मलाई आधिकारिक जानकारी छैन । म नियमित जनताको काममा कार्यालय र फिल्डमा अनवरत लागिरहेको छु । चरणवद्ध ढंगले म माथिको हिंसाजन्य व्यवहारले सीमा नाघेको छ’, विष्टले सामाजिक सञ्जालमा लेखेकी छन् ।


हालसम्म राजीनामा दिएको र स्विकृत गरेको आधिकारी पत्र नपाएको उपाध्यक्ष विष्टको भनाइ छ । उनले कार्यकक्षलाई लथालिङ्ग बनाउन गाउँपालिका अध्यक्षको हात रहेको आरोप लगाएकी छन् ।


यता गाउँपालिका कार्यालयले उपाध्यक्ष विष्टको कार्यकक्षदेखि सवारीसाधनसम्म प्रयोगमा रोक लगाएको छ । उनको कार्यकक्षमा राखिएको नेमप्लेट निकालिनुका साथै टेवुलमा रहेका सामानहरु यत्रतत्र फालिएको छ ।


‘फोन गर्दा नउठाउने, कार्यालयमा आउन नसक्ने, आफू लुकेर आसेपासे लगाएर  नेमप्लेट उप्काउनेदेखि कार्यकक्षको सामान फाल्ने काम भएको छ’, विष्टले भनेकी छन् । महत्वपूर्ण कागजपत्र रहेको आफ्नो कार्यकक्षको सुरक्षा गर्न आफूले ताला लगाएको उपाध्यक्ष विष्टले बताइन् ।


गाउँपालिका अध्यक्ष एकराज उप्रतीले राजीनामा स्वीकृत भइसकेको जनप्रतिनिधिले अब पनि पहिलेकै सुविधा खोज्नु नै गलत भएकोे बताए । गाउँपालिकाले विष्टले प्रयोग गर्दै आइरहेको सवारीसाधन खोसेको छ । ‘उहाँले पदबाट दिएको राजीनामा स्वीकृत भइसकेको छ । त्यसैले नेमप्लेट निकालिएको हो । उपाध्यक्षको हैसियतबाट उहाँले प्राप्त गर्दै आएको सुविधा अब पाउनु हुन्न,’ उप्रेतीले भने ।


कार्यकक्षमा सामान फालिएको विषयमा भने आफूलाई जानकारी नभएको अध्यक्ष उप्रेतीले जानकारी दिए । कार्यकक्षमा गलत गतिविधि हुनु नराम्रो भएको भन्दै कार्यकक्षको सामान मिल्काइएको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।


सीसी क्यामेराको फुटेज हेरेर गलत कार्य गर्नेको पहिचान हुने र प्रशासनलाई अनुसन्धानका लागि भनिसकेको अध्यक्ष उप्रेतीको भनाइ छ ।