close

आफन्तबाटै ४ महिने शिशुको अपहरण, उद्दार गर्न भारत जाँदै गाउँपालिका

आफन्तबाटै ४ महिने शिशुको अपहरण, उद्दार गर्न भारत जाँदै गाउँपालिका

Trulli
ADVERTISEMENT

मकवानपुर–मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाबाट चार महिने शिशुको अपहरण भएको २ महिना पछि अपहरण गरेर राखेको स्थल पहिचान भएको छ ।

 

मनहरी–६ जोगीताल घर भएका सोमबहादुर तामाङको ४ महिने छोराको करिब दुई महिना अघि अपहरण भएको थियो । तर, तामाङ परिवारले गाउँपालिका र प्रहरीमा बारम्बार आफ्नो छोराको उद्दारका लागि हारगुहार गर्दा पनि दुई महिनासम्म कुनै उपलब्धि हुन सकेको छैन । मनहरी गाउँपालिकाले दुई महिनासम्म अपहरित शिशु रहेको स्थान भने पत्ता लगाएको छ ।


तामाङकी आफन्त पर्ने चितवन घर भएकी एक महिलाले शिशुको अपहरण गरी भारत राजस्थान पुर्‍याएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार अपहरण गर्ने महिला तामाङको जोगितालस्थित घर आउजाउ गर्ने गरेकी थिइन् ।


३ मंसिरमा हराएका शिशुलाई तामाङको घरमा आइरहने आफन्तले नै अपहरण गरेर भारतको राजस्थान पुर्‍याएको आशंका गरेपछि गाउँपालिकाले उद्दारका लागि समिति गठन पनि गरेको छ ।

 

गाउँपालिकाले भने उद्दार समिति नै गठन गरेर शिशुलाई भारतबाट उद्दार गर्ने योजना बनाएको अध्यक्ष उप्रेती बताउँछन् । शिशुलाई अपहरण गरी भारत, राजस्थान पुर्‍याइएको जानकारी पाएपछि गाउँपालिकाले ५ सदस्यीय उद्दार समिति निर्माण गरेको उप्रेतीले बताए ।

 

भारत नयाँदिल्लीस्थित माइती नेपालसँगको सहकार्यमा शिशुको उद्दार गरिने उनले जनाए । गाउँपालिकाको टोली केही दिनमै भारत, राजस्थान जाने भएको छ । ‘हाम्रो टोली राजस्थान जाने तयारीमा छ । कागजी प्रक्रिया पुर्‍याएर टोली तत्काल भारत जानेछ’, उप्रेतीले भने ।

 

‘मनहरी गाउँपालिकाबासी अपहरण गर्दा स्थानीय सरकार गम्भिर भएर उद्दारमा खटिनु दायित्व हो । त्यसैले उद्दार गर्न समिति नै गठन गरेर अघि बढ्दै छौं । जसरी पनि शिशुलाई उद्दार गरेर ल्याउँछौं’, अध्यक्ष उप्रेतीले भने । उद्दार गर्न खटिएको टोलीको खर्च सबै गाउँपालिकाले ब्यहोर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए । तामाङ ज्यालामजदुरी गरेर पेट पाल्दै आएका थिए । तामाङ परिवार छोरा अपहरणमा परेपछि मानसिक रुपमा विछिप्त छ ।