close

बाइडेनको ह्वाइट हाउस यात्रा: कस्तो होला नेपाल नियाल्ने आँखा ?

बाइडेनको ह्वाइट हाउस यात्रा: कस्तो होला नेपाल नियाल्ने आँखा ?

Trulli
ADVERTISEMENT

काठमाडाैं- नेपालमा भइरहेका पछिल्ला राजनीतिक घटनाक्रम भन्दा पनि अमेरिकाको चुनावी मतपरिणाम आउने क्रममा  नेपालीको ध्यान त्यता केन्द्रित थियो । धेरैलाई राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमलाले निर्वाचित हुन्छन् हुँदैनन् भन्ने चासो थियो ।


खासमा निर्वाचित दुवैको नेपालसँग कुनै सम्बन्ध नभएपनि यसअघि ट्रम्पको कार्यकालमा लिइएका केही आप्रवासी नीति देखि इन्डो प्यासिफिक र एमसीसीलाई लिएर बाइडेन केही लचक पात्र भएकाले पनि उनी चुनिँदा नेपालमा उत्साह थियो नै । अब, आजबाट ४ वर्षे कार्यकाल सुरु गर्दै गर्दा नेपाल र नेपालीको ध्यान पुनः त्यता मोडिएको छ । सपथ ग्रहण गरेर ह्वाइट हाउस छिर्दै गर्दा नेपालीको कौतुहल बढ्दै छ । के बाइडेनले नेपाललाई हेर्ने भारतीय नजरबाट बाहिर निस्किएलान् ?

 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन ४६ औं राष्ट्रपतिमा चुनिनु भन्दा अघि राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति हुँदा विदेश कुटनीतिलाई निकै सफलतापूर्वक अवतरण गराउने पात्र हुन् । त्यतिमात्र होइन सिनेटको विदेशसम्बन्ध समितिका उनी अध्यक्ष पनि थिए ।

 

आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्दछन् । सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए ।


पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले । तर कैयौँ अमेरिकीको रुचिविपरीत उनी अलि ज्यादा शान्तिकामी पनि लाग्न सक्छन् भने उनको अधिकांश नीतिहरू मध्यमार्गी किसिमका हुनेहुँदा न त वैदेशिक मामिलामा यो कार्यकाल निकै महत्वपूर्ण अमेरिकाका लागि मानिन्छ । त्यसमाथि पनि चीनसँग पछिल्लो ४ वर्षमा भएका व्यापार र वाक युद्ध, उत्तरकोरियासँग टुंग्याउनुपर्ने बाँकी विषयमा उनको नीति धेरैलाई चाख लाग्नु स्वभाविक हो ।

 

नेपालको बाइडेनसँग अपेक्षा


उनको कुटनीतिक विशेषताका बारेमा चर्चा गरिरहँदा बाइडेनसँग नेपालले पनि धेरै अपेक्षा गरेको छ । निर्वाचित भएलगत्तै राष्ट्रपति र प्रधानमन्त्रीले दिएको शुभकामना सन्देश शिष्टाचारको अभ्यास भएपनि नागरिकतहबाट देखिएको बाइडेनप्रतिको उत्साह भने लोभलाग्दो छ ।


पछिल्लो चार वर्ष नेपाल र अमेरिकाबीच सन्देहपूर्ण सम्बन्ध छ । इन्डो प्यासिफिक रणनीति, एमसीसी, आप्रवासी र भारतीय दृष्टिकोणबाट नेपाल हेर्ने अमेरिकी प्रशासनमा परिवर्तनको अपेक्षा आम नागरिकले गरेका छन् । त्यतिमात्र नभई जलवायु परिवर्तनमा अमेरिकाले खेल्ने भूमिका पनि नेपालका लागि चासोको विषय बनेको छ ।


ट्रम्प प्रशासनले अघि सारेको इण्डो प्यासिफिक रणनीतिलाई धेरैले चीन घेर्ने रणनीतिका रुपमा व्याख्या गरिरहेका छन् । तर, खासमा नयाँ प्रशासनले त्यस विषयमा देखिएको अस्पष्टता चिर्दै नेपाललाई यसमा होमिन भूमिका खेल्छन् खेल्दैनन् त्यो अर्को प्रश्नको रुपमा हेरिएको छ ।


यस्तै, एमसीसी सम्झौता र बिआरआईले फरकफरक पाटोको रुपमा नेपालले मान्दै आएपनि बाहिरी हल्लाका कारण नेपालले अहिलेसम्म यि दुवैलाई ग्रहण गर्न सकिरहेको छैन । जसमा बाइडेन र उनको प्रशासनले मद्दत गर्ने विश्वास गरिएको छ ।

 

के परिवर्तन होला भारतीय नजरबाट नेपाल हेर्ने अमेरिकी प्रवृत्ति ?


दक्षिण एसियाली मुलुकमा भारतको दबदबा रहँदै आएको छ । यसलाई कसैले लुकाएर लुकाउन सकिँदैन । र, यसअघिसम्म अमेरिकाले भारतको नजरबाट नै नेपाल लगायत अन्य मुलुक नियाल्दै आएको छ । जसका कारण अमेरिकासँग राम्रो सम्बन्ध भएपनि नेपालले कुनै फाइदा लिन सकेको छैन भने हरेक पटक अमेरिकाले अघि सारेको प्रस्तावलाई संशयले हेर्नुपरेको छ ।


बाइडेन आफैमा विदेश मामिलामा पोख्त भएकाले उनले हरेक देश र त्यहाँको प्रणालीलाई फरक तरिकाले हेर्ने अपेक्षा गरिएको छ । यदि त्यसो भएमा नेपालले पनि अन्य मुलुकको तुलनामा आफ्नो अस्तित्व देखाउन सक्छ ।

 

नेपालले के गर्न सक्छ ?


नेपालले जलवायु परिवर्तका मुद्दामा अमेरिकालाई पेरिस सम्झौता अन्तर्गत रहेर धारणा राख्न सक्नुपर्छ । हिमालयको देश भनेर चिनिने नेपाल र जलवायु परिवर्तन रोक्ने विषयमा बाइडेनको समान धारणा छ । यसमा नेपालले आफ्नो धारणा स्पष्ट राख्दा केही खास परिवर्तन नभएपनि त्यो बाइडेनलाई आकर्षित बनाउन सक्ने मुद्दा हुने कुटनीतिज्ञको दावी छ ।


यस्तै, ट्रम्प प्रशासनले अमेरिकामा आप्रवासीहरूको संख्या घटाउन र आप्रवासीहरूको निर्वासन दर बढाउन अनेकौं नीतिहरू प्रस्तुत गर्‍यो । उनको अध्यागमन नियन्त्रण गर्ने नीतिहरू मध्ये सेप्टेम्बरमा एउटा चर्को बहसको प्रस्ताव आएको थियो ।


उक्त नियम अन्तर्गत, नेपाल जस्ता देशहरुका विद्यार्थी जो अधिक भिसा भन्दा अधिक दरहरु छन् प्रत्येक दुई बर्ष पछि आफ्नो भिसा नवीकरण गर्नु पर्थ्याे । उक्त नीतिले अमेरिकामा ११ हजार भन्दा बढी नेपाली विद्यार्थीहरूको लागि अनिश्चितताको बादल उत्पन्न गरेको थियो । त्यसैले बाइडेनबाट यसमा केही नीति परिमार्ज हुने विश्वास लिइएको छ ।


यी र यस्ता अनेक प्रश्नको उत्तर बाइडेन प्रशासनले लिने नीतिमा निर्भर गर्नेछ । त्यसैले पनि बाइडेनको जीतले नेपालका लागि धेरै ढोका खुल्न सक्ने आंकलन गरिएको छ । तर, त्यसलाई नेपालले कसरी ग्रहण गर्छ त्यो समयले बताउला ।