close

मकवानपुरमा बन्द प्रभाव : गाडीमा आगजनी, ठाउँ-ठाउँमा शंकास्पद वस्तु

मकवानपुरमा बन्द प्रभाव : गाडीमा आगजनी, ठाउँ-ठाउँमा शंकास्पद वस्तु

Trulli
ADVERTISEMENT

मकवानपुर- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि देखिएको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा विप्लव समूहले गाडीमा आगजनी गर्नुका साथै ठाउँ-ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् ।

 

नेपाल बन्द सफल पार्न विप्लव नेकपाले नागरिकलाई त्रसित बनाउन गाडीमा आगजनी र बमजस्तो शकांस्पद वस्तु राखेको हो । मकवानपुरको काठमाडौंसँग सीमा जोडिएको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ स्थित एक पिकअप भ्यानमा आगजनी भएको छ ।


हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा शनिवार बिहान अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र संह राठोरले जानकारी दिए ।

 

करिब २ बजे रातीको समय १० जनाको समूहले चालकलाई झारेर गाडीमा आगो लगाएको एसपी राठौरले बताए । आगजनीबाट पिकअपको अगाडिको भाग जलेर नष्ट भएको छ ।


गाडीमा आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको राठोरले बताए । ‘१० जनाको समूहले गाडीमा आगजनी गरेको पाइयो । आगजनीमा संलग्नहरूको खोजी गरिरहेका छौँ’, राठौरले भने । 


इन्द्रसरोवर गाउँपालिकामा यसअघिका नेपाल बन्दमा पनि गाडीमा आगजनी भएको थियो । मकवानपुरको उत्तरी क्षेत्रमा बितेको ५ वर्षभित्र १ दर्जनभन्दा बडी सवारीमा आगजनी भइसकेको अनुमान छ ।

 

यसैगरी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा बमजस्तो देखिने शकांस्पद वस्तु फेला परेको छ । धरान-चतरा सडक खण्डअन्तर्गत झुरझुरे सडक खण्डको बीचमै शकांस्पद वस्तु भेटिएको प्रहरीले बताएको छ । 

 

कालो रातो तारसहितको वस्तु सडकको बीचमै भेटिए पछि सडक पूर्ण रूपमा बन्द गरिएको एसपी राठौरले बताए ।


हेटौंडा उपमहानगर वडा नम्बर ५ सिँचाइ टोल नजिक पनि शंकास्पद वस्तु भेटिएको छ । जेब्रा झोलामा बिजुलीको तारसहितको शंकास्पद वस्तु फेला परेको उनले बताए ।

 

भीमफेदी गाउँपालिकास्थित भैंसेबाट कालीप्रसाद गणका सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको छ । शंकास्पद वस्तु बम भने नरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ 


मकवानपुरको पश्चिमी क्षेत्रस्थित राक्सिराङ गाउँपालिका वडा नम्बर ५ खोप्लासीस्थित मनहरी खोलामा ‘बम’ लेखिएको शंकास्पद वस्तु भेटिएको छ । घटनास्थलमा हरियो कार्टुनलाई प्लास्टिकको टेपले बेरेको र बिजुलीको रातो कालो तार बाहिर निकालेर ‘बम’ लेखिएको शंकास्पद वस्तु भेटिएको हो ।


इलाका प्रहरी कार्यालय मनहरी र शकांस्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पनि घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ ।